चितवनमा निजी स्कुल बसमा आगो लगाएको आरोपमा सामुदायिक विव्यस अध्यक्ष पक्राउ


१४ जेष्ठ २०८१, सोमबार
Chitwan school 1

चितवन । चितवनको भरतपुरस्थित कल्याणपुरमा रहेको स्मल हेभन स्कुलको बसमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निजी विद्यालयको बसमा अगो लगाएको आरोपमा प्रहरीले विश्वनाथ थारु महेशलाई पक्राउ गरेको हो ।

गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गरेको भरतपुर महानगरपालिका–५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागमती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसलाई भरतपुर–२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ । पक्राउ परेका थारु भरतपुर–२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेको प्रहरीले जनाएको । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो । विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो ।

तीन वटा मोटरसाइकलमा आएको ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनले बताए । पक्राउ परेका महेश थारुकै समूहले २०८० माघ २८ गते भरतपुर–२६ ज्योतिनगरस्थित सूर्योदय वोमी लघुवित्त संस्थाका कार्यालयमा गएर लघुवित्तका कर्मचारीलाई धाकधम्की दिई आगजनी गरी भागेको प्रहरीको दाबी छ ।

पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो व्यक्ति अपराधिक क्रियाकलापमा निरन्तर सक्रिय भएको पाइएको प्रहरीले जनाएको छ । थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७