अस्पताल भर्ना भएका सिरोहियालाई तेस्रो पटक म्याद थप्न अदालत लगिंदै


१४ जेष्ठ २०८१, सोमबार
kailash kavya

जनकपुर । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज (सोमबार) तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । नागरिकता कीर्तेसम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३/३ दिनको म्याद दिएको थियो ।

दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत लैजाने प्रहरीको तयारी छ । १० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई रेफर गराइयो र काव्या अस्पताल पुर्‍याइएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।

प्रहरी प्रवक्ता डिएसपी अवाले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्समार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७