ओलीविरुद्धको आरोपमा माफी नमागे प्रतिवादमा उत्रिने कांग्रेसलाई एमालेको चेतावनी


१४ जेष्ठ २०८१, सोमबार
Bishnu
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो अध्यक्षविरुद्ध निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारूढ दल नेकपा एमालेले आक्रोश व्यक्त गरेको छ । बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई निशाना बनाएर आरोप लगाइरहेको भन्दै आपत्ति जनाए ।

उनले नेकपा एमाले र पार्टी अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित, पूर्वाग्राही, तथ्यहीन, गलत, भ्रामक र आधारहीन लाञ्छाना लगाएको भन्दै आक्रोश पोखे । ‘यस प्रकारको आधारहीन आरोपबाट पछि हट्न अनुरोध गर्न चाहन्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ’, उनले भने ।

कांग्रेस सहमतिमा पुग्नुभन्दा पनि परिस्थिति बिथोल्न लागि परेको उनले आरोप समेत लगाए । उनले आफ्ना अध्यक्ष ओलीमाथि लगाएको आरोपमा लिखित र सार्वजनिक रूपमा माफी माग्न कांग्रेसलाई अनुरोध गरे । कांग्रेसले यसो नगरे सबै राजनीतिक सम्बन्ध तोडिन सक्ने चेतावनी उनको थियो । ‘लिखित रूपमा क्षमायाचना गर्नुपर्छ, सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँग ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनीतिक आरोपलाई सुनेर एमाले बस्दैन’, उनले भने ।

नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष ओलीको इशारामा अहिलेको सबै खेल भइरहेको भन्ने सार्वजनिक टिप्पणी गर्दै आएको छ । कांग्रेसबाट बोल्ने अधिंकाश नेताहरूले ओलीकै डिजाइनमा यो सबै भइरहेको आरोप लगाउने गरेका छन् । संसद पनि ओलीको डिजाइनमा सभामुखले पेलेर चलाइरहेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७