बुकीमै बसेर यार्सागुम्बाको खोजी


२०८१ जेठ १४ सोमबार ०७:२९ बजे

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त छन् । बुकीमा ओढारमा बास बसेर पाइजासहित उनका साथीहरूले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा संकलन गर्नेको भीड लागेको छ ।

चिमखोलाका करिब ५० जना अहिले यार्सा संकलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताए । ‘करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा संकलन गरिरहेका छौँ’, पाइजाले भने । यसअघिका वर्षमा दिनमा २०० सम्म यार्सा संकलन हुने गरेको बताउँदै उनले यस वर्ष यार्सा कम भेटिएको बताए । यार्सा संकलकहरू यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । संकलन भएको यार्सा स्थानीय स्तरमा २०० देखि २५० रुपैयाँसम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा संकलन गर्दै गरेका गमान गर्बुजाले बताए ।

यार्सा संकलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केही वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरूमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा संकलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिए ।

यार्सागुम्बा संकलन र निकासीका लागि राजस्व तिरेर संकलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा संकलनकर्ताले संकलन भएपछि मात्रै सोही बमोजिमको संकलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमंगले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयवासी अहिले लेकाली क्षेत्रमा यार्सा संकलनमा व्यस्त बनेका छन् ।

विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा संकलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब १५० जना यार्सा संकलनका लागि गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । उनले यार्सा संकलन हिमाली क्षेत्रका बासिन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताए ।

यार्सा टिप्न जानेहरूले देवीदेवताको पूजापाठ गरी काम सुरू गर्छन् । यार्सा संकलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर, जोखिमपूर्ण तवरले संकलित यार्साले उचित मूल्य नपाउँदा यार्सा संकलनकर्ताहरू निरास बन्न थालेका छन् । सर्वसाधारणबाट व्यवसायिहरूले प्रतिकिलो पाँचदेखि ६ लाख रुपैयाँसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजार मूल्य प्रतिकिलो आठदेखि १० लाख रुपैयाँसम्म रहेको जानकार बताउँछन् । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७