एनसेलले लाइसेन्स नवीकरणका लागि दियो निवेदन, चार अर्ब बुझाउँदै माग्यो किस्ता सुविधा


१५ जेष्ठ २०८१, मंगलवार
ncell 1

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जीएसएम मोबाइल सेवाको अनुमतिपत्र नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन दिएको छ । अनुमतिपत्रको म्याद सकिनुभन्दा तीन महिनाअघि नै नवीकरणका लागि निवेदन दिनुपर्ने कानुनी प्रावधान अनुसार सोमबार चार अर्ब रुपैयाँ बुझाएर एनसेलले प्राधिकरणमा निवेदन दिएको हो । तेस्रो नवीकरणका लागि किस्ता सुविधा माग गर्दै सोमबार चार अर्ब रुपैयाँ तिरेको एनसेलले जनाएको छ ।

आउँदो १६ भदौमा एनसेलको अनुमतिपत्रको म्याद सकिँदै छ । यो पटकको नवीकरणबाट कम्पनीले अर्को पाँच वर्ष अर्थात् २०८६ सम्म सेवा सञ्चालन गर्न पाउने छ । पहिलो १० वर्ष पश्चात प्रत्येक पाँच–पाँच वर्षमा २० अर्ब रुपैयाँ नवीकरण शुल्क तिरेर अनुमतिपत्र नवीकरण गर्नुपर्ने प्रवाधान छ ।

यसअघि पनि सरकारले नेपाल टेलिकम र एनसेललाई पहिलो र दोस्रो नवीकरणका लागि किस्तामा नवीकरण शुल्क तिर्ने सुविधा दिएको थियो । हालै मात्र सरकारले नेपाल टेलिकमबाट तेस्रो नवीकरणको शुल्क पाँच वर्ष पश्चात संकलन गरेको थियो । कानुनतः उक्त शुल्क प्राधिकरणले २०७६ सालमा नै उठाउनुपर्ने थियो ।

नेपाल टेलिकमले पाँच वर्ष पश्चात मात्र आफ्नो नवीकरण शुल्क तिरे पनि एनसेलले कानुन बमोजिम सबै नवीकरण शुल्क तिर्ने भन्दै चार अर्ब रुपैयाँ बुझाएर किस्ता सुविधा माग्दै नवीकरणका लागि निवेदन दिएको छ । किस्ता सुविधाबारे समयमा नै प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही निर्णय लिने आशा गरिएको छ ।

यसअघि प्राधिकरणले अनुमतिपत्रको तेस्रो नवीकरण बापत हुन आउने २० अर्ब रुपैयाँ बुझाउन भन्दै एनसेललाई ४ जेठमा पत्र काटको थियो । समग्र दूरसञ्चार क्षेत्र आयमा आएको गिरावटबाट पिल्सिरहेका बेला एनसेलले हाल ४ अर्ब रुपैयाँ तिरेर बाँकी १६ अर्ब आउँदो ४ वर्षमा तिर्न प्राधिकरण र सरकारसँग किस्तामा तिर्ने व्यवस्थाका लागि निवेदन गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७