बजेटमा नयाँपन देखिएन, राजश्व भन्दा ऋणलाई जोड दियो : अर्थशास्त्री डा. विश्व पौडेल


२०८१ जेठ १५ मंगलबार ०७:१८ बजे

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष अर्थशास्त्री डा. विश्व पौडेलले आगामी आर्थिक वर्षको बजेटले अहिलेको शिथिल अर्थतन्त्रलाई उकास्ने कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् ।

मन्दीबाट उम्किनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका आयोजनामा हुनुपर्ने रफ्तार तथा चाहिने स्प्रिट बजेटमा प्रकट नभएको उनको भनाइ छ । ‘कालिगण्डकी करीडोर जस्तो सडक आयोजनाको वार्षिक लक्ष्य ५० किलोमिटर राखिएको छ, यस्तो लक्ष्य राखेर कसरी सार्वजनिक खर्च बढ्न सक्छ’ उनले भने ।

कार्यक्रमहरूमा कुनै पनि नयाँ दिन नसकेको उनको भनाइ छ । चालु वर्षकै कार्यक्रमले निरन्तरता पाएकाले पनि यसमा खासै नयाँपन नदेखिएको उनले बताए । मन्दीबाट उठ्नका लागि गुणस्तरीय सार्वजनिक खर्च बढाउनु पर्ने हुन्छ । यसका लागि विज्ञहरूले निरन्तर रुपमा सरकारलाई सुझाव दिँदै आएका छन् । तर बजेटले यसका लागि कुनै पनि पहल नगरेको पौडेलले बताए ।

आकारका हिसाबले धेरै ठूलो नभए पनि आन्तरिक ऋणको हिस्सा धेरै ठूलो हुनु जोखिमपूर्ण भएको उनको भनाइ छ । बजेटमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ । चालु वर्षका लागि २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले आगामी वर्ष एकैपटक ३ खर्ब ३० अर्ब पुर्‍याएको छ । यसरी आन्तरिक ऋण धेरै उठाउँदा मौद्रिक बजारमा उल्टो संकट ल्याउन सक्ने उनको भनाइ छ ।

राजस्व बढाउनका लागि केन्द्रित हुनुपर्नेमा त्यसमा सरकार निकै निराश देखिएको उनको भनाइ छ । सरकार नै निराश भएको देखिँदा राजस्व बढ्ने सम्भावना छैन । तर सरकारले आगामी वर्षका लागि लिएको लक्ष्य भेटाउनका लागि ३५ प्रतिशतसम्मको वृद्धिदर कायम गर्नुपर्ने हुन्छ । जुन असम्भव देखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७