के साँच्चिकै समाचार लुकाइन्छ ?


१७ जेष्ठ २०८१, बिहीबार
krishnabhakta duwal 1

–ई. कृष्णभक्त दुवाल
सन् २०१७ मा नेपालबाट हवाइजहाजबाट चीनको चेन्दू जाँंदाको यात्रा मेरो मानसपटलमा फेरि एकचोटी छचल्किएको छ । कारण हो, नेपालकै चर्चित बरिष्ठ पत्रकार नारायण वाग्लेसँंगको भेटघाट र वार्तालाप । त्यो बेला मैले उनीसँंग नेपालको पत्रकारिता र नैतिकताको विषयमा वार्तालाप गरेको थिएँं । यही प्रश्न हिजोआज मिडियामा आएको देखेर मलाई त्यो वार्तालापले फेरि एकचोटी सम्झना दिलाएको हो ।

मैले खासमा पत्रकार नारायण वाग्लेलाई चिनेको थिएन । पत्रकारितामा विशेष रुची राख्ने नाताले म उनको नामसँंग भने पहिलादेखि परिचित नै थिएँं । एउटै हवाइजहाजमा मेरो छेउमा सिट परेका थिए उनी त्यो बेला । कुरैकुरामा हाम्रो परिचय भयो । अनि बल्ल मैले नाम चिनेको तर मान्छे नचिनेको उनलाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो । हाम्रो परिचय लेनदेन भयो ।

कान्तिपुर, नागरिक हुँंदै उनी त्यो बेला सेतोपाटी अनलाइनको सम्पादक थिए । मैले नाम चिनेको पत्रकार भएरै, वरिष्ठ पत्रकार भएकैले मेरो मानसपटलमा रहेको के नेपालको पत्रकारिता नैतिकता अनुसार चलेको छ ? भनेर प्रश्न गरेको थिएँं । उतरमा उनी मुसुक्क हाँंसे मात्रै । उनले त्यो बेलाको हाम्रो वार्तालापलाई लिएर सेतोपाटीमै लामो संस्मरण लेखेका थिए । तर आज म त्यतातिर विषयान्तर हुन चाहन्न ।

समाचारको हत्या
पेशाले म इन्जिनियर । अझ पेशाले प्राध्यापन पनि गर्छु इन्जिनियरिङमै । हाल भने भवन निर्माण सामग्री उत्पादन गर्ने एक जना व्यवसायी पनि हुँं । पुल्चोक इन्जिनियरिङ कलेजमा पढेका र नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरमा १० वर्ष भन्दा वढी समय पढाएको मेरो धेरै साथीहरुमध्ये एक जना अनन्य साथी जो झण्डै साढे दुई दशकदेखि पत्रकारितामा अध्ययन, अध्यापन र अभ्यासमा छन् । उनी भन्छन्, ‘पत्रकारितामा समाचारको हत्या (न्युज किल्ड) भन्ने टर्मियोलोजी (शव्दकोष) पढ्नु पर्छ, पढाउनु पर्छ र अभ्यासमा पनि देखेको छु ।’

उनका अनुसार पत्रकारितामा समाचारको हत्या भइरहन्छ । एक जना समाचारदाताले ल्याएको समाचार भोलिको अंकमा छापिन ठिक पर्ने तर पछि मोलमोलाइ मिलेपछि भोलि उच्च प्राथमिकताका साथ छापिने भनेर राखेको समाचार प्रकाशित हुँंदैन र त्यो अन्ततः छापिंदैन नै र समाचारको हत्या हुन्छ ।

समाचार लेखेर नाम : लुकाएर दाम ?
म पत्रकार नभए पनि पत्रकारितामा विशेष रुची राख्ने व्यक्ति भएकाले मेरा धेरै पत्रकार साथीहरु छन् । उनीहरुसँंग पनि म नेपाली पत्रकारिता र नैतिकताबारे छलफल गर्न अधिक रुचाउँंछु । यही कारण साथीहरुसँंग औपचारिक अनौपचारिक रुपमा यस विषयमा म बारम्वार कुरा पनि गरिरहन्छु अनि साथीहरु ख्यालख्यालैमा ठट्टैठट्टामा भन्छन्, ‘पत्रकारितामा लागेर पैसा धेरै कमाइँदैन । तर त्यस्तो पत्रकारले कमाउँंछ जसले समाचारलाई लुकाउँंछन् । उनीहरुको सारांश हुन्थ्यो, खासमा पत्रकारले समाचार लेखेर नाम कमाउँंछ, नलेखेर दाम अर्थात् पैसा ।’

इतिहास हेरौं न, भारतमा छापिएको पहिलो समाचारपत्र हिक्की गजेट पनि अगस्टक हिक्की भन्ने एक जना अंग्रेज नागरिकले छापेर प्रकाशित गरेका थिए । नेपालमा पनि बेलायत भ्रमणमा गएका जंगबहादुरले गिद्धे प्रेस ल्याएपछि छाप्ने कार्यको प्रारम्भ भएको थियो । पछि विसं १९५८ मा गोरखापत्र दैनिकको प्रकाशन थालनी भयो । आमजनतालाई सही सूचना दिने उद्देश्यले भन्दा पनि राणाहरुको लहड, शौख तथा अंग्रेजहरुको जीवनशैलीलाई देखेर पत्रिकाको सुरूवात गरिएको थियो । त्यसअघि नै मोतीराम भट्टको सक्रियतामा केही साहित्यिक पत्रिकाहरु भने नेपालबाट प्रकाशित भएका थिए, जसमा ‘सुधासागर’ मुख्य थियो ।

धेरै पछि विसं २०२३ मा मात्र नेपाली पत्रकारिता कस्तो हुनुपर्छ भनेर पत्रकार आचारसंहिताको विकास भयो । नेपाल पत्रकार संघको प्रथम सम्मेलनले स्वच्छ र स्वस्थ जनमतको निर्माणका लागि भन्दै २२ सूत्रीय नेपाली पत्रकारिताको आचारसंहिता जारी गरेको थियो । त्यसपछि आजसम्म विभिन्न चरणमा प्रेस काउन्सिल र पत्रकार महासंघले परिमार्जन गरेर विभिन्न समयमा आचारसंहिता जारी गरिरहेका छन् ।

हिजोदेखि आजसम्मको नेपाली पत्रकार आचारसंहिताको इतिहास हेर्दा सत्यता, निष्पक्षता, सामाजिक जिम्मेवारीलगायतका विषयहरु नै मुख्य रुपमा उठाइएको छ । पछिल्लो समय अनलाइनको प्रयोग बढ्दै जाँदा पत्रकारिता आचारसंहिताले पछिल्ला मिडियालाई पनि सम्बोधन गर्नुपर्ने भएको छ । सूचनाको चोरी र गलत प्रयोग पछिल्लो समयमा निकै बढेको छ । विशेषतः कतिपय स्थानीय मिडियाहरु राष्ट्रिय समाचार पूरै अनलाइनको कपी गरेर प्रसारित गर्दछन् ।

कतिपय पत्रकारहरु भने फेसबुक तथा ट्वीटरमा अनुचित तथा असान्दर्भिक फोटाहरु राख्ने गर्दछन् । समाचार मात्र लेखेर आचारसंहिताको पालना हुन्छ भन्ने छैन । पत्रकारको व्यवहार, बानी तथा व्यक्तिगत मान्यताले पनि त्यसलाई निर्देशित गर्दछ । नेपालमा पत्रकारका व्यक्तिगत मान्यता, स्वार्थ तथा बानी व्यवहारले गर्दा नै समय–समयमा पत्रकारिताको नैतिक धरातल संकटमा पर्ने गर्दछ । महात्मा गान्धीले भने जस्तै पत्रकारिताको मुख्य धर्म भनेको समाजसेवा नै हो र हुनुपर्छ पनि ।

सन्दर्भ आफ्नै
सन् २०१४ तिर म नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा प्राध्यापनरत थिएँं । त्यसबेला सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ सञ्चालित यो कलेजलाई तत्कालीन कलेज सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपाने (जो हाल यही मुद्दामा कारागारमा छन्) ले निजी बनाउने षड्यन्त्र गरेका थिए । कलेजलाई जोगाउन हामी त्यो बेला फ्रन्टलाइनमै थियौ ।

कलेजलाई बचाउन भनी द राइजिङ नेपाल अंग्रेजी राष्ट्रिय दैनिकका एक जना पत्रकार साथीको सहायताले म र विरोध रिजाल (जो त्यो बेला नेपाल इन्जिनियरिङ कलेजमै पढाउने तर हाल एभरेस्ट इन्जिनियरिङ कलेज काठमाडौंका प्रिन्सिपल) दुई जना एउटा नाम चलेकै राष्ट्रिय दैनिकका पत्रकारलाई सहयोग माग्न पुगेका थियौं । त्यस क्रममा हाम्रा सवै कुरा बुझेर उनले समाचार लेखिदिए पनि । तर विडम्वना समाचारले उल्टो रुप लियो अर्थात् हाम्रो विरोधमा विपक्षीको पक्षमा समाचार छापियो भोलिपल्ट ।

कलेजलाई बचाउन समाचार लेखिदिएका साथीले राति नै हामीलाई माफी माग्दै फोन गरेर भने, ‘यहाँंहरुको पक्षमा मैले समाचार त लेखें तर समाचार कक्षबाट यसको ठिक उल्टोमा समाचार छाप्ने निर्णयका साथ समाचार छापिंदैछ ।’ नभन्दै भोलिपल्ट उल्टो हामीलाई नै दोषी देखाएर कलेजलाई निजी बनाउन चाहनेको पक्षमा समाचार प्रकाशित भयो । हामी अच्चमित पर्‍यौं ।

अन्तमा
प्रविधिको विकाससँगै व्यक्तिगत रूपमा सिर्जनशीलता र प्रतिभाको विकास गर्ने अवसरबाट मानव समुदाय बिस्तारै पलायन हुन थालेको छ । यसले सञ्चारमाध्यमको पेसागत मर्यादामा क्षति पुर्‍याउँछ । प्रयोगकर्ताहरूको व्यक्तिगत चाहना, पूर्वाग्रह, संलग्नता, विश्वास, आस्थानुसारका सामग्रीहरू उत्पादन हुने गर्छ । फेसबुकले भ्रामक र गलत सामग्रीहरू बेला बखत पस्किने गरेको देखिएको छ । यस प्रकारका गलत कार्यका लागि यी प्रविधिहरू मैत्रीपूर्ण देखिन्छन् ।

विकसित मुलुकहरूमा यस प्रकारका समस्याहरू देखिएका छन् । गलत, निहित स्वार्थका लागि बनावटी सूचना र समाचारहरू फेसबुकमार्फत प्रसारण हुने र यसले समग्र सञ्चारमाध्यममाथि नै विश्वासमा ह्रास आउने अवस्था बन्छ । विभिन्न प्रकारका प्लेटफर्मबाट जस्तै सामाजिक सञ्चारमाध्यम, मोबाइल र वेबसाइटमार्फत सूचना र समाचार सम्प्रेषित हुने गर्छ । समाचारमा अत्यधिक पहुँच कायम गर्न सफल हुन्छ । विश्वसनीयतामा कमी आउँछ ।

प्रयोगकर्ताहरूको संलग्नताको स्तर र उनीहरूले प्रदान गरेको पृष्ठपोषणलाई आधार बनाएर जब सूचना सम्प्रेषण हुन थाल्छ, त्यही बिन्दुबाट विश्वसनीयतामा कमी आउन थाल्छ । गलत सूचनाहरूलाई कसरी नियन्त्रण गर्ने, सम्पादकीय विश्लेषण र पूर्वाग्रह प्रेरित सामग्रीहरूको परीक्षण के कस्ता तरिकाबाट हुनसक्ने हो ? यसमा मानवीय संलग्नता कसरी गराउन सकिन्छ ? भन्ने सन्दर्भलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको योगदान अत्यावश्यक छ । अध्ययन अनुसन्धान र विश्लेषणपश्चात् उपयुक्त ढंगले मार्गदर्शन, निर्देशिका, आधार तयार पारी स्पष्ट ढंगले स्वीकार्य नीतिहरू निर्धारण गर्न सक्नुपर्छ ।

यसका साथै यस प्रविधिको प्रयोगबाट पारदर्शिता, जवाफदेहिता र नैतिकताको सुनिश्चितता र प्रवर्द्धन हुनुपर्छ । सन् १८४० को दशकमा टेलिग्राफबाट प्रारम्भ भएको पत्रकारिता पेसा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुँदै च्याट जीपीटी, जे, बार्ड डाल–ईजस्ता प्रविधिको प्रयोगमार्फत् विकसित हुँदै आएको छ । तर पनि समाचारले अहिलेसम्म भ्रमपूर्ण समाचार आएकै छ । गलत समाचारका कारण भ्रम सिर्जना भएकै छ । यसले राजनीतिक, लैंगिक, जातिगत जस्ता संवेदनशील विषयमा पूर्वाग्रह राखेर सामाजिक विशृंखलता फैलाउन पनि सफल भएको अवस्था छ ।

लेखक : ख्वप कलेजमा प्राध्यापक साथै नेपाल इको प्यानलको प्रमुख कार्यकारी प्रमुख अधिकृत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७