शान्ति सैनिक भुपजीत राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान


०७:२१ बजे

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरेका छन् ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । गत अक्टोवर १३ मा कङ्गोमा राईको निधन भएको थियो ।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ । नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो। छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७