कुलमानले काट्दैछन् यी सय उद्योगको विद्युत, ‘क्यापासिटर’ छैन भने तत्काल राख्नुस्


३१ जेष्ठ २०७५, बिहीबार
nepal bidhut pradhikaran

काठमाडौं, ३१ जेठ । तपाई उद्योग चलाईरहनु भएको छ ? अनि उद्योगमा विद्युत आपूर्ति गर्नका लागि क्यापासिटर राख्नु भएको छ कि छैन ? छैन भने तत्काल राख्नुस् नत्र तपाईको उद्योगको विद्युत जतिबेला पनि काटिन सक्छ ।nepal bidhut pradhikaran

क्यापासिटर नराखी सञ्चालनमा रहेका उद्योगहरुको लाइन अब विद्युत प्राधिकरणले काटिदिने भएको छ । उद्योगले क्यापासिटर बैंक नराख्दा तराईका जिल्लामा विद्युत आपूर्तिमा भोल्टेजको समस्या देखिएको भन्दै प्राधिकरणले यस्तो कडाई गर्न थालेको हो । नेपाल विद्युत प्राधिकरणको प्रणालीबाट आपूर्ति हुने विद्युतमा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत प्रवाहका लागि क्यापासिटर बैक राखिन्छ ।

विद्युत प्राधिकरणले आफ्नो सबस्टेसनहरुमा क्यापासिटर बैंकहरु राखी प्रणालीमा भोल्टेज सुधार गरेको हुन्छ । प्राधिकरणको विद्युत बितरण विनियमावली–२०६९ले ५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत मोटर वा वेल्डिङ मेशिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैक राख्नु पर्ने व्यवस्था गरेको छ । तर, विनियमावली विपरीत अधिकांश उद्योगले क्यापासिटर बैक राखेका छैनन् । जसकाकारण उद्योग स्वयम्ले र आम उपभोक्ताले विद्युत आपूर्तिमा भोल्टेजको समस्या व्यहोरिरहेका छन् ।

प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ वटा उद्योगले मात्रै क्यापासिटर बैक राखेको फेला पारेको थियो । क्यापासिटर बैंक राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदण्ड अनुसारको नराखेको पत्ता लागेको छ । प्राधिकरणले मुलुकभरका बितरण केन्द्रलाई क्यापासिटर बैक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको छ ।
धेरै उद्योगले क्यापासिटर बैक नराखेको फेला परेपछि निश्चित समय दिएर उनीहरुलाई अनिवार्य रुपमा राख्न लगाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘ठूला–ठूला उद्योगले नै क्यापासिटर बैक नराखी दिएपछि अहिले मुख्यगरी तराईका जिल्लामा भोल्टेजको कारण लाइन ट्रिप हुने, विद्युतीय उपकरण नचल्ने लगायतका समस्या देखिएका छन्’,उनले भने ,‘यसका लागि उद्योगलाई निश्चित समय दिएर क्यापासिटर बैक राख्न भन्छौं, हामीले दिएको समयमा राखेनन् भने विनियमावलीमा भएको व्यवस्थाअनुसार लाइन काट्नेसम्मको कार्बाही गर्छौं ।’

नीजि ऊर्जा उत्पादकहरुले पनि आफ्नो जलविद्युत केन्द्रहरुबाट भोल्टज सुधारको लागि दिनु पर्ने ‘रियाक्टिभ पावर’ नदिएर ‘एक्टिभ पावर’ मात्र आपूर्ति गरिदिएकाले भोल्टेज सुधार गर्न कठिनाई हुने गरेको छ । भारतमा गर्मी बढेका कारण भोल्टेज ड्रप हुँदा त्यहाँबाट आयात भइरहेको विद्युत झनै कम भोल्टेजको रहँदा प्रणालीमा समस्या देखिएको छ । नेपालको तराई क्षेत्रमा प्रचण्ड गर्मीको कारण फ्यान तथा एसी चल्ने हुंदा गर्मी समयमा भोल्टेज ड्रपको समस्या अझ बढ्छ । यसकै कारण वुटवल, विराटनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका सहरी क्षेत्रमा कम भोल्टेजले गर्दा समय समयम विद्युत आपूर्तिमा समस्या देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७