माधव नेपाललाई प्रश्न : प्रधानमन्त्री बन्न खोज्नु भएको हो ?

‘वामपन्थी मिल्ने नाममा दासत्व स्वीकार्न सकिँदैन’


२१ जेष्ठ २०८१, सोमबार
madhav nepal 3
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा एकीकृत समाजवादी आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको एकीकृत समाजवादी सङ्घ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायक समेत रहँदै आएको छ । आफूहरूलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आएका एस अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दशौँ महाधिवेशनका सन्दर्भमा गरिएको संवादको सम्पादित विवरण :

पछिल्ला राजनीतिक घटनाक्रममा तपाईं र तपाईंको पार्टी चर्चाकै केन्द्रमा रहेको देखिन्छ । हालै मात्र तपाईंले विपक्षी दलका नेताहरूसँग बैठक भएको सन्दर्भमा वर्तमान सत्ता गठबन्धनमा केही समस्या आउने हो कि भन्ने कोणबाट हेरिएको छ, स्थिति त्यस्तो हो ?

स्वाभाविक रूपमा विभिन्न विषयमा राजनीतिक दलहरूबीच भेटघाट र छलफल हुन्छ । म एक राजनीतिक दलको नेता भएकाले मलाई विभिन्न पक्षले बोलाउँछन् । छलफलमा सहभागी हुने अवस्था बन्छ, त्यसमा आत्तिनुपर्ने कुनै अवस्था छैन । त्यसमा पनि अहिले हामी विशेष अवस्थामा छौँ । त्यो अवस्थालाई पनि ध्यानमा राखेर चल्नुपर्छ । त्यसो हुनाले सबैले सामूहिक पक्षमा छलफल चलाउनुपर्छ । बेवास्ता गरियो भन्ने खालको मनस्थिति कसैको नबनोस् । काम परुन्जेलसम्म भाँडो काम सकिएपछि ठाँडो ठान्ने ढङ्गबाट व्यवहार नहोस् । विश्वासको सम्बन्ध र वातावरण बनोस् ।

हामी देशभक्त शक्तिहरू, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी र परिवर्तनकारी शक्तिहरू समाजवादको यात्रामा अगाडि बढ्न चाहने समाजवादी शक्तिहरू एकताबद्ध भएर बढून् भन्ने हाम्रो चाहना छ । हामी अहिले सङ्घीय सरकारको गठबन्धनमा छौँ । विशेष अवस्था भएकाले मधेश प्रदेशको सरकारमा पनि छौँ । कसरी देशको भलो, जनताको कल्याण र पार्टीको पनि हित हुन्छ, यी तीनवटै विषयमा उचित सन्तुलन कायम गरेर हामी अगाडि बढ्छौँ ।

मधेश प्रदेशमा तपाईंहरूको पार्टीले हालका मुख्यमन्त्रीलाई समर्थन गर्ने सम्भावना छ ?

देश र जनताको हितभन्दा हाम्रा लागि अरू ठूलो केही पनि छैन । अहिले हामी त्यहाँ छौँ र त्यहाँ रहुञ्जेल त समर्थन भइहाल्छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने पार्टीले छलफल र परामर्श गरेर आगामी रणनीति लिन्छ ।

तपाईंहरूलाई गठबन्धनमा भए पनि सरकारमा रहेका प्रमुख दलहरूबाट वास्ता गरिएन भन्ने गुनासो हो ?

वास्ता गरियो–गरिएन भन्ने कुराहरूका बारेमा गुनासो गर्नुपर्ने केही पनि आवश्यकता छैन । जे भए पनि व्यापक छलफल र परामर्शको अवश्यकता छ ।

पाँच वर्षको अवधिमा तपाईंलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भन्ने विभिन्न प्रस्ताव सुनिन्छ । त्यस्तो केही कुरा वा समझदारी भएको छ ?

मेरा लागि पद ठूलो कुरा होइन । प्रधानमन्त्री मेरो प्राथमिकताको विषय होइन । मेरो निम्ति प्राथमिकताको विषय भनेको जनता हो, देश हो । त्यसैले देश र जनताको हितमा हामीले आफूलाई समर्पित गर्नुपर्छ । त्यस कारण मैले के पाउँछु के पाएँ भन्ने विषयलाई केन्द्रविन्दुमा राख्ने होइन । मेरो सोच पनि त्यस्तो छैन । म पदका लागि मरिहत्ते गर्ने मान्छे पनि होइन । पदकै निम्ति जन्मेको र पदकै निम्ति मर्ने पनि होइन । त्यस कारण देश र जनताको हित र कल्याण हुँदा त्योभन्दा सन्तोष अरू केही पनि हुँदैन ।

प्रस्ताव आएमा वा पार्टीलाई पनि स्थापित गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री बन्न तयारै हुनुहुन्छ नि ?

देश र जनताको पक्षमा कुनै काम गर्नुपर्‍यो भने बरु हामी त्यस्ता छलफल र बहसहरूमा लागू गर्ने सबै कुरामा सधैँ सकारात्मक नै रहन्छौँ । नेपालको उत्पादन क्षेत्रमा सम्भाव्य वस्तु जे जति छन्, तिनको प्रवर्द्धन गर्नुपर्छ । अर्को, नेपालको अर्थतन्त्रका दुईवटा महत्त्वपूर्ण क्षेत्र ऊर्जा र पर्यटन हुन् । जलविद्युत्को क्षेत्रमा धेरै गर्न सकिन्छ । यसका निम्ति आन्तरिक र बाह्य लगानीलाई आकर्षित गरिनुपर्छ ।

जे–जे बाधा र अवरोधहरू छन्, त्यसलाई सहजीकरण गर्न सरकारले तदारुकता देखाउनुपर्छ । त्यसपछि पर्यटन क्षेत्रको विस्तार गर्ने सन्दर्भमा कस्ताकस्ता पर्यटकहरू नेपालमा बढी आकर्षित हुन्छन्, चाहे त्यो नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न या नेपालको ऐतिहासिक परम्परागत सम्पदा र संस्कृतिका बारेमा जानकारी लिन वा धार्मिक अवस्थाबारे जानकारी लिन आएका किन नहोऊन्, जुनसुकै उद्देश्यले नेपाल आएका भए पनि पर्यटकको बसाइ लम्ब्याउने कार्ययोजना आवश्यक छ ।

तर, सबै कुराहरू हुँदाहुँदै पनि विकास निर्माणको काम गर्दा सामूहिक सोचको अभाव छ, प्राथमिकीकरणका बारेमा गम्भीर सोच र विश्लेषणको अभाव छ, यी सबै कुराका लागि योजना निर्माण गर्दा ध्यान दिनुपर्छ । काम गुणस्तर र समयमै सम्पन्न गर्नका लागि अनुगमन प्रणाली प्रभावकारी बनाइनुपर्छ । यी सबै कुरामा ध्यान पु¥याए नेपालको गणतान्त्रिक व्यवस्था सुदृढ भई अर्थतन्त्रको विकासले फड्को मार्छ ।

समाजवादमा वर्ग हुन्छ र पार्टी पनि हुन्छ । हामी स्वार्थ र भ्रष्टीकरणबाट मुक्त हुनुपर्नेछ । अहिले नेपालको राजनीतिलाई भ्रष्टीकरणले गाँजेको छ । भ्रष्टीकरणबाट मुक्त हुन व्यक्तिवाद र मपाईंवादबाट मुक्त हुनुपर्छ । गणतन्त्रले यही कुराको अपेक्षा गरेको छ । हरित अर्थतन्त्र, डिजिटल इकोनोमीको विकासलाई जोड दिनुपर्छ । अहिलेको बजेटले यसलाई समेटेको छ । कमीकमजोरीलाई सच्याएर आगामी १६औँ पञ्चवर्षीय योजनामा यस्ता विषय समेटेर प्रभावकारी कार्यान्वयनमा लैजानुपर्छ । यी सबै कुरामा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्नुभएको छ । पार्टीको महाधिवेशनलाई कसरी लिनुभएको छ ?

हाम्रो पार्टी दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । हामी आगामी असार १६ देखि २० गतेसम्म महाधिवेशन गर्न गइरहेका छौँ । महाधिवेशनका लागि हामीले चारवटा दस्तावेज तयार गरेका छौँ । ती दस्तावेज सामूहिक छलफल र सहमतिबाट अघि बढेका छन् । ती दस्तावेज सहमतिबाट अगाडि बढ्छन् ।

पार्टी स्थापना भएको तीन वर्ष हुँदै छ, दशौँ महाधिवेशन भन्नुभएको छ, दशौँ महाधिवेशन भन्न मिल्छ ? महाधिवेशनपछिको नीति र नेतृत्वबारे के गृहकार्य भएको छ ?

तपाईं हामी सबैलाई थाहा छ कि पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो । पछि पार्टी विभाजित भयो । विभाजनपछि पुष्पलालले तेस्रो सममेलन गर्नुभयो । पहिलो र दोस्रो महाधिवेशन भइसकेको थियो । उहाँले महाधिवेशन गर्न पाउनु भएन । मोहनविक्रम सिंह पनि पार्टीबाट अलग हुनुभयो र चौथो महाधिवेशन गर्नुभयो । जो जहाँबाट विभाजन भए, त्यही अवस्थामा महाधिवेशनको निरन्तरता गरिँदै आएको छ । त्यसैले हामी एमालेबाट विभाजन भएर आयौँ, अब हामीले गर्ने महाधिवेशन दशौँ महाधिवेशन नै हुन्छ ।

नेतृत्व पनि सहमतिबाटै चयन हुन्छ कि ?

हाम्रो अधिकतम प्रयास त्यही नै रहन्छ । सोहीअनुरूपको वातावरण बनोस् भन्ने हामीलाई लागेको छ ।

तपाईंले नेतृत्वको निरन्तरताकै तयारी त गर्नु भएको होला नि ?

मैले के सोच्छु भन्ने महत्त्वपूर्ण होइन । पार्टी र कार्यकर्ताले के सोच्छन्, त्यो महत्वपूर्ण कुरा हो । व्यक्तिगत स्वार्थभन्दा पनि पार्टीको हितलाई हेरेर, नेता कार्यकर्ताको चाहनाबमोजिम नेतृत्व चयन हुन्छ ।

तपाईंहरूकै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हाम्रो पार्टीले अहिलेकै संरचना र कार्यशैलीबाट नेतृत्व चयन गर्न सक्दैन, यसमा व्यापक परिवर्तन जरुरी छ भन्नुभएको थियो, सुधार्नेबारे के सोच्नुभएको छ ?

समाजवादी क्रान्तिका क्रममा हामी निरन्तर परिवर्तनका पक्षमा हुन्छौँ । हामी अहिलेको अवस्थामा सन्तुष्ट छैनौँ, अग्रगमनका लागि यात्रारत हुन्छौँ । संसार नै परिवर्तनशील छ । संसार परिवर्तनशील भएपछि मान्छे परिवर्तनशील हुनुपर्छ । पार्टी र विचार परिवर्तनशील हुनुपर्छ । यस अर्थमा हामीले नेपाली विशेषताको समाजवाद भनेका छौँ । नेपालको विशेषता के हो भने यहाँ रहेका बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपाली समाजअनुकूलको सोचको कुरा हो ।

यहाँ वर्गभित्र जात पनि छ । भौगोलिक रूपमा विविधता छ । अनेकौँ सम्पदा छन् । दुई ठूला देशको बीचमा हामी छौँ । यहाँ बहुदलीय प्रणाली पनि छ । राजनीतिक अवस्था र बहुदलीय प्रतिस्पर्धा पनि हुन्छ । हामी एकल पार्टीको पक्षमा छैनौँ । समाजवादमा वर्ग हुन्छ र पार्टी पनि हुन्छ । हामी स्वार्थ र भ्रष्टीकरणबाट मुक्त हुनुपर्नेछ । अहिले नेपालको राजनीतिलाई भ्रष्टीकरणले गाँजेको छ । भ्रष्टीकरणबाट मुक्त हुन व्यक्तिवाद र मपाईंवादबाट मुक्त हुनुपर्छ ।

लोकतान्त्रिक कार्यशैली र पारदर्शी र वैज्ञानिक कार्यपद्धति अपनाउन सकियो भने अवश्य पनि कुनै पार्टीभन्दा उत्कृष्ट हुन सकिन्छ । हाम्रो पार्टीको भविष्य उज्यालो छ । कसैकसैलाई यो पार्टीको भविष्य छैन भन्ने पनि लागेको होला । यो पार्टीलाई विलीन बनाएर लैजानुपर्छ भन्ने पनि लागेको हुन सक्छ । तर, यो विलीन भएर समापन भएर जाँदैन । यो पार्टी आफ्नो सोच, दृष्टिकोण, वैज्ञानिक समाजवादको यात्रामा दृढताका साथ अगाडि बढ्छ । अरूलाई पनि साथमा लिएर जान्छ । किनभने हामी अलगअलग पसलहरू होइनौँ । सकेसम्म विचार मिल्नेहरूलाई एकताबद्ध बनाएर लैजाने सोचमा छौँ । सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू पनि मिलून् । वामपन्थी शक्तिहरू त मिल्नैपर्छ । किनभने वामपन्थी शक्तिहरूले नै नेपाल राष्ट्रमा ठूलाठूला परिवर्तन गरेका छन् र त्यसको अगुवाइ पनि गरेका छन् । हामीहरू मिल्नुको विकल्प छैन ।

पहिला फुटेर जाने अनि फेरि मिल्नैपर्छ भन्ने क्रम पनि चलिरहने रहेछ है !

फुट र जुट चलिरहन्छ । नदी पनि त फाटछ, कहिले मिसिन्छ । दुई धार हुन्छ । अन्त्यमा गन्तव्य त समुद्रमा गएरै मिसिने हो । त्यसो हुनाले फुटमा आत्तिनुपर्ने अवस्था छैन । नदी एक किसिमको भौगोलिक संरचनामा पुग्छ, त्यहाँ फाट्छ, अर्को भौगोलिक संरचनामा मिसिन्छ । त्यसैले प्रकृतिको नियम नै यस्तै छ । सकेसम्म फाट्नु राम्रो होइन, तर के गर्नु, घरै फाटिरहेको हुन्छ ।

श्रीमान-श्रीमती पनि फाटिरहेका हुन्छन् । कोही कसैको दास बनिरहन सक्दैन । दासत्वलाई स्वीकार्न सकिँदैन । यस अर्थमा हामी आफ्नो स्वाभिमान, देश र जनताको स्वाभिमान र हितका लागि लागिरहेका छौँ । हामी नक्कली गफको क्रान्तिकारी होइन, व्यावहारिक र साँचो अर्थमा जनताको परिवर्तनका खातिर उभिन जरुरी छ । –रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७