८८ केजी सुनका मुख्य अभियुक्त छाड्ने र भीएलएनको मुद्दा हेर्ने एउटै न्यायाधीश

भीएलएनका राम श्रेष्ठलाई १० लाख धरौटीमा छाड्ने आदेश विवादमा


३१ जेष्ठ २०७५, बिहीबार
court

काठमाडौं, ३१ जेठ । मलेसिया पठाउने कामदारसँग अवैध रुपमा चर्को शुल्क लिएको आरोपमा मेरिडियन स्वास्थ्य संस्थाका देवान राईले ५१ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त भए । तर सोही प्रकृतिको मुद्दामा भीएलएनका राम श्रेष्ठसँग २ अर्ब ८६ करोड रुपैयाँ बिगो दाबी गरिएकोमा १० लाख रुपैयाँमात्र धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि न्यायालयभित्र कसरी आर्थिक चलखेलले काम गर्छ भन्ने चर्चा सुरु भएको छ ।

court
पौने ३ अर्ब धरौटी माग गरिएका भीएलएनका राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी लिएर छाडेपछि न्यायालयभित्र हुने भ्रष्टाचार ओपन सेक्रेट जस्तै भएको छ । न्यायपालिकाभित्र हुने आर्थिक चलखेलकै कारण पौने ३ अर्ब बिगो दाबी गरिएका श्रेष्ठलाई १० लाख धरौटीमा छाड्न आदेश दिइएको स्रोतले बताएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले उनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

बीचौलियाहरुले ३ करोड घुसमा डिल गरी श्रेष्ठलाई बुधबार १० लाखमा छाडेको स्रोतले बताएको छ । मंगलबार दिनभरी घुसमा डिल भए पनि कुरा नमिलेपछि छाडिएन । तर बुधबार डिल मिलेर बीचौलियाले घुस बुझिसकेपछि उनलाई छोड्न आदेश दिएका छन् । न्यायाधीश अमृत बस्नेत तिनै हुन् जसले ८८ केजी सुन तस्करहरुलाई छाड्ने आदेश दिएका थिए । जसलाई सुशीला कार्की प्रधानन्यायाीश हुँदा अनियमिततामा संलग्न भएर मुद्दा फैसला गरेकै आधारमा कालीकोट र त्यसपछि सिराहा सरुवा भएका थिए । गोपाल पराजुली प्रधानन्यायाधीश भएपछि उनलाई काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याएका थिए ।
भीएलएनको मुद्दामा कामु प्रधानन्यायाधीश दीपकराज जोशीकै नाम जोडिएको छ । भीएलएनका श्रेष्ठलाई १० लाख धरौटीमा छुटाउनका लागि कामु प्रधानन्यायाधीश दीपकराज जोशीका छोरा प्रविन्द जोशी नै लागेको सरकारी वकिलहरुबीच चर्चा हुने गरेको छ । कामु प्रधानन्यायाधीश जोशीका छोरा प्रविन्दले ल फर्म खोलेर मुद्दामा सेटिङ मिलाउने गरेको आरोप छ । जोशीका छोरामार्फत् कुरा मिलाएपछि न्यायाधीश बस्नेतले १० लाख धरौटीमा श्रेष्ठलाई छाड्न आदेश दिइएको समाचार छ । भीएलएनका श्रेष्ठलाई १० लाख धरौटीमा छाड्ने आदेश दिए पनि ललितपुर प्रहरीले उनलाई बुधबार छुट्नासाथ तत्कालै पक्राउ गरेको थियो । उनीविरुद्ध ललितपुरमा पनि ठगी मुद्दा भएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
८८ केजी सुनका मुख्य अभियुक्त छाड्ने न्यायाधीश पनि बस्नेत नै
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतले ७ महिनाअघि २०७४ कात्तिक २४ मा ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङसहित ४ जनालाई ४ लाख मात्र धरौटी लिएर छाड्ने आदेश दिएका थिए । अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्य, रबिश्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा कार्य्विनायक सुनचाँदी पसल चलाउने गणेश दत्त बडूलाई धरौटीमा छाड्ने आदेश दिएको हो । प्रहरी अनुसन्धान प्रतिवेदनमा यी चार जना नै ८८ केजी सुनका मुख्य अभियुक्त थिए । तर न्यायाधीश बस्नेतले प्रहरी अनुसन्धान प्रतिवेदनको ठीक बिपरीत चारै जना अभियुक्तलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएका थिए । सुन तस्करहरुलाई छाडेर सुन ओसार्ने भरिया गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको थियो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार गराउने गर्थे ।
प्रहरीले घटनामा संलग्न भनिएका चालकहरू निर्दाेष देखिएको जनाएको थियो ।
अदालतले सामान्य तारेखमा छाड्ने आदेश दिएका तामाङ सुन तस्करी मुद्दामै हत्यामा समेत संलग्न व्यक्ति हुन् । १४ असोज, २०७४ मा स्वयम्भूमा तस्करीको ६ किलो सुन लुकाएको आरोपमा रसुवाका गगन तामाङको हत्या भएको थियो । हत्यामा संलग्नमध्ये एक लाम्पा ग्लाजेन तामाङ ८८ किलो सुन तस्करीमा समेत संलग्न रहेको खुलेपछि महानगरीय प्रहरी परिसरले उनलाई पनि प्रतिवादी बनाएको थियो । अदालतले प्रहरी अनुसन्धान प्रतिवेदनमा प्रमाण सहित सुन तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता गरे पनि आर्थिक चलखेलमा उनीहरु छुटेका छन् भने प्रहरीले निर्दोष किटान गरेका चालकहरुलाई जेलमा पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७