शोकमा सप्तरी : एकै परिवारका ६ को मृत्यु, दुई बेपत्ता


१२ कार्तिक २०७४, आईतवार
saptari 1
सप्तरी : धादिङमा भएको बस दुर्घटनापछि सिंगो सप्तरी शोकमा डुबेको छ । एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । एउटै आमाबुवाका चार छोरीको ज्यान गएको छ । दुर्घटनामा परिवारका ६ सदस्यको मृत्यु र दुई बेपत्ता भएको खबर पाएपछि सञ्जित झाको
saptari 1

एकै परिवारका ६ को मृत्यु, दुई बेपत्ता
तिलाठीका रमानाथ झाले आफ्ना दुई छोरा, एक बुहारी, दुई नातिसहित परिवारका आठ सदस्य गुमाए । तिहार–छठ सकेर काठमाडौं फर्कने क्रममा उनका ३८ वर्षीय जेठो छोरा सञ्जित, ३५ वर्षीया बुहारी सिम्मी, ३३ वर्षीय कान्छो छोरा अञ्जित र १० वर्षीय नाति अभिनवको दुर्घटनामा मृत्यु भएको छ ।

सञ्जितकी ७४ वर्षीया जेठीसासू चन्द्रवती झा र १९ वर्षीय सालो आदित्यको पनि दुर्घटनामा मृत्यु भएको छ । सञ्जितकी २२ वर्षीया साली पूजा र चार वर्षीय कान्छो छोरा प्रतीक बेपत्ता छन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । घटना थाहा पाएदेखि उनकी आमा अर्धमुर्छित छिन् ।

चतुरनारायणले गुमाए चार छोरी
बोदेबर्साइन नगरपालिका–३ फुलहारनिवासी चतुरनारायण प्रमाणीले सो दुर्घटनामा चार छोरी गुमाएका छन् । पेसाले शिक्षक उनी काभ्रे बस्दै आएका थिए । आफू र श्रीमती मोटरसाइकलमा जाने भएकाले प्रमाणीले शुक्रबार महदेवा गाउँपालिका–९ का प्रमोद इसरसँगै चारै छोरीलाई काठमाडाैँ पठाएका थिए । तर, शनिबारको दुर्घटनामा उनका चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको मृत्यु भयो ।

त्यस्तै, कृष्णश्रवरण गाउँपालिका–४ का योगेन्द्र यादवले २९ वर्षीया श्रीमती सुधिरा र पाँच वर्षीया छोरी समीक्षा गुमाएका छन् । बोदेबर्साइन नगरपालिकाका आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव र मानवी यादव एकै परिवारको रहेको बताइएको छ ।

मृतक परिवारको घरमा बलेन चुलो
दुर्घटनाको खबर आउनसाथ तिलाठी, फुलहारा, बर्साइनसहितका स्थानमा रुवाबासी चलेको थियो । मृतकका परिवारमा चुलो बल्न सकेको छैन । राजविराजबाट छुटेको सन्देश बस हेटौँडामा बिग्रेपछि काठमाडौंबाट आउँदै गरेको सोही कम्पनीको अर्को बसमा यात्रु साटासाट गरी फर्केका थिए । काठमाडौंबाट आएको बसले हेटौँडामा राजविराजका यात्रुका साथै अलि अगाडि अन्य यात्रुलाई छतमाथि समेत राखेको घाइतेहरूको भनाइ छ । मृतकहरूको सनाखत भइरहेको र पोस्टमार्टमपछि आइतबार धादिङबाट शव सप्तरी ल्याइने तिलाठीका देवनारायण यादवले बताए । दुर्घटनामा सप्तरीमा धेरै मानवीय क्षति भएको भन्दै नौवटै नगरपालिका र नौवटै गाउँपालिका बन्द गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७