टी–२० विश्वकपमा आज तीन खेल हुँदै : भारत र पाकिस्तानको भिडन्त


०७:०० बजे

काठमाडौँ । जारी टी–२० विश्वकप अन्तर्गत आज (आइतबार) तीन खेल हुँदैछन् । आज पहिलो खेल समूह ‘सी’ अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच खेल हुँदैछ । गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः १५ बजेदेखि सुरु हुनेछ ।

वेस्ट इण्डिज र युगाण्डाबीच पहिलो पटक टी–२० खेल हुन लागेको हो । जारी विश्वकपमा वेस्ट इण्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ । त्यस्तै युगाण्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार व्यहोरेको छ । युगाण्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

त्यस्तै आज दोस्रो खेल समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीच हुँदैछ । न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः १५ बजेदेखि सुरु हुनेछ । यस खेललाई यस विश्वकपकै सबैभन्दा ठूलो खेल भनिएको छ । जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब सुरुवात गरेको छ ।

भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन् । जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ । त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन् । जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ । त्यस्तै एक खेल अनिर्णित बनेको थियो ।

त्यसैगरी आज तेस्रो खेल समूह ‘बी’ अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुँदैछ । एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०ः ४५ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा ओमानले आफ्ना दुवै खेलमा हार व्यहोरेको छ । ओमानले नामिबिया र अस्ट्रेलियासँग हार व्यहोरेको थियो । त्यस्तै स्कटल्याण्डले भने नामिबियालाई पराजित गरेको थियो भने इङल्याण्डसँगको खेल बर्षाले रद्द हुदा एक अंक हासिल गरेको थियो । ओमान र स्कटल्याण्डबीच अहिलेसम्म कुल ४ टी–२० भएका छन् । जसमा चारै खेल स्कटल्याण्डले जितेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७