रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई हरायो


२०८१ जेठ २८ सोमबार ०७:२१ बजे

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा भारतले चीर प्रतिद्वन्दी पाकिस्तानलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो । जितका लागि १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो । पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन बनाएको थियो । भारतका ओपनरद्वय विराट कोहली ४ र रोहित शर्मा १३ रन बनाएर आउट भएका थिए ।

त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । अक्षर पटेलले १८ बलमा २० रन जोडे । पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा कमजोर बनेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध हार व्यहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७