४० वर्षमा ३६ लाख मात्रै सरकारी बेरुजु फर्छ्यौट


२०८१ जेठ २८ सोमबार ०७:२८ बजे

काठमाडौँ । आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० को बेरुजु ४० वर्षमा ३६ लाख चार हजार ४३७ मात्रै फर्छ्यौट भएको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी दिएको छ ।

आज (सोमबार) प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो । समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय प्रमुख नमुना कार्की दाहालले आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताए ।

प्रमुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरे। उनले आर्थिक वर्षगत रुपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १ हजार ६८५ थान प्रतिवेदनका ठेलीहरुलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताए ।

उनले कार्यालयले सरकारी कार्यालयहरुको श्रणपरीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरुजु फर्छ्यौट गर्न सफल भएको बताए । उनले अझै आर्थिक वर्ष २०१८/१९ देखि आर्थिक वर्ष २०५९/६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताए ।

राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरुको फर्छ्यौट हुन बाँकी बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले दिएको छ । उनले कार्यालयमा बेरुजु फर्छ्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भए पनि उपसचिवको नेतृत्वलगायत कर्मचारीको अभावको कारण सोचेजस्तो काम गर्न नसकिएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७