नवराजपुर गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२०८१ जेठ २८ सोमबार ०७:५३ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव भन्ने शोभा कुमारीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष यादव र उपाध्यक्ष कुमारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनीयर कृष्णा साह, सब–इन्जिनियर सन्तोषकुमार यादव समेत १४ जनाउपर सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट रामजानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा उक्त विद्यालयको अपूरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरी गरेको भनेर १४ लाख ५१ हजार ५५१ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायाण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष मदन यादव, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशीलाल साह समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७