विदेश पठाई दिने भन्दै ३०० बढीबाट १५ करोड ठगी गर्ने गिरोह पक्राउ


२९ जेष्ठ २०८१, मंगलवार
thagi Qh7LcAisuB

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।

पक्राउ परेकाहरुले विगत ३-४ वर्षयता ३०० बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ ।

उनीहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि प्रहरीको भनाइ छ । यस सम्बन्धमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उनीहरुले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७