जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि १० समूहमा छलफल जारी


२०८१ जेठ २९ मंगलबार ०७:२२ बजे

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल भइरहेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ–आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्ने उनले जानकारी दिएका छन् । प्रत्येक समूहमा १२० प्रतिनिधि रहने छन् । जसपा, नेपालको महाधिवेशनमा कूल १,३०० प्रतिनिधि छन् । जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ । महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन् ।

त्यस्तै महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिने छन् । यसअघि विधान अधिवेशनले १७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरे पनि विधानमा पुनः संशोधन गरेर पदाधिकारी संख्या बढाउन लागिएको बस्नेतले बताए ।
२०६३ सालमा मधेशी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएसँगै २०६५ सालमा वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो । त्यसयता १६ वर्षपछि एकता महाधिवेशन हुन लागेको हो। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने सम्भावना रहेको एक प्रतिनिधिले बताए । बाँकी पदमा प्रतिस्पर्धाको सम्भावना रहेको ती नेताको भनाइ छ।

महाधिवेशनको मुखैमा जसपा नेपाल विभाजन भएको थियो । संघीय परिषद अध्यक्ष अशोक राईले सात प्रतिनिधि सभा सांसद लिएर नयाँ पार्टी गठन गरी सरकारमा सामेल भएका थिए । जसपा नेपालबाट विभाजन भई बनेको जनता समाजवादीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च अदालत पुगेका थिए । अदालतले यो मुद्दामा संवैधानिक इजलासमा पठाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७