लोकसेवा आयोग पास गर्न सक्नु भएन ? यी ११ काम गर्नुस् सफलता निश्चित


१ असार २०७५, शुक्रबार
lok sewa aayog

काठमाडौं, १ असार । नेपालमा सरकारी जागिरको आकर्षण बढ्दो छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौं गुणा बढी आवेदन पर्छ । कुनै पदको लागि आवश्यक शैशिक योग्यता एसएलसी हुँदा पनि त्यसमा स्नातककोत्तर डिग्री भएकाले समेत आवेदन दिएको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठूलो आकर्षण रहेको देखाउँछ । lok sewa aayog

तर, लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसँग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । परीक्षार्थीलाई सफलता दिलाउन निश्चित समय, वातावरण, परिस्थिति, संगतले समेत असर पार्ने हुन्छ भने कुनै पनि लक्ष्य प्राप्त गर्न तन, मन, वचन, र कर्मका साथ त्यसप्रतिको लगावले समेत असर पार्न गर्छ ।

नेपालमा प्रत्येक वर्ष लगभग ६ लाख जनशक्ति श्रम बजारमा प्रवेश गर्ने गर्छन् । तीमध्ये निजामती सेवामा प्रवेश गर्ने जनशक्ति एकदमै कम हुन्छन् तर पनि नेपालको सन्दर्भमा खुला प्रतियोगिता, आन्तरिक प्रतियोगितालगायतबाट लोकसेवाको प्रतिष्पर्धात्मक परीक्षा पार गर्नुलाई चुनौतीका रूपमा लिने गरिन्छ ।

परीक्षार्थीको मनोभाव, स्वास्थ्य, पारिवारिक वातावरण, बुझ्न र विश्लेषण गर्न सक्ने क्षमता समेतले असर गर्ने हुनाले सबै परीक्षार्थीमा एउटै नियम लागू हुन्छ भन्न सकिंदैन भने विषयगत परीक्षामा जाँचकीको मनोभाव, बुझाइको स्तर, समयसन्दर्भ र देशकाल परिस्थितिअनुसारका अनुभवको माग, अनुभव आदि विषयले समेत चित्त बुझाउनुपर्ने हुन्छ । नेपालका सन्दर्भमा प्रायः गरी प्रतिष्पर्धी उम्मेद्वारहरूले अपनाउने तरिकाहरू जसले सफलताको सिंढी चढ्न सहज पार्ने गर्दछन् ।

१) सर्वप्रथम दिइएको पाठ्यक्रमलाई स्वअध्ययन तथा विश्लेषण गरी मनको अन्तर कुनामा आन्तरिकीकरण गर्नु पर्छ ।

२) दिइएको विषयवस्तुको सैद्धान्तिक तथा समयसन्दर्भ अनुसार व्यवहारिक र उपयोग गर्न सकिने गरी ज्ञान हासिल गर्ने ।

३) प्रायः गरी विश्वविद्यालयीय परीक्षामा विद्यार्थीले पाठ्यक्रमको प्राथमिकीकरण गरेर पढ्ने बानी हुन्छ तर, लोकसेवा आयोगबाट लिइने पाठ्यक्रमले कुनै पनि विषयवस्तुको सांकेतिक र प्रतिकात्मक संकेत गरेको हुने र सबै शीर्षकको समान मूल्य हुने हुनाले सोअनुसार अध्ययन विश्लेषण गर्नुपर्छ ।

४) विषयगत रूपमा सोधिएका प्रायजसोः प्रश्नले सैद्धान्तिक उत्तर मात्र नखोजेर व्यवहारिक जवाफ पनि सँगसँगै खोज्ने हुनाले नेपालको सन्दर्भ र परिवेशअनुसार लागू गर्न सकिने सुझाव तर, अरूभन्दा फरक तरिकाले दिनुपर्ने हुन्छ ।

५) पाठ्यक्रमको आन्तरिकीकरण भएपश्चात औपचारिक तथा अनौपचारिक रूपमा स्वअध्ययन, समूहगत अध्ययन, कार्यअनुभवलाई समेत विषयवस्तुसँग तालमेल मिलाई विश्लेषण गर्ने बानीको विकास गर्नुपर्छ । बाटोघाटोमा हिंड्दा देखिएका समस्याहरूसँग मेल खाएको अवस्थामा वा कुनै पनि विषयको छलफल, अन्तरक्रियाका क्रममा अध्ययनका विषयले स्वतः आफै प्रवेश गर्नुपर्दछ । स्वस्फूर्त रूपमा अध्ययन गरिएका समसामयिक विषयको चिन्तन गर्ने बानीले पनि समस्याको विश्लेषण गर्ने क्षमताको विकास समेत हुँदै जान्छ ।

६) अध्ययनले विश्लेषण गर्ने बानीको विकास गर्न, घुमाउरो प्रश्नको जवाफ आधिकारिक भनाइ र सिद्धान्तमा टेकेर दिन तथा रचनात्मक र सिर्जनात्मक उत्तर दिन विभिन्न अध्ययन समितिका प्रतिवेदन, आधिकारीको दस्तावेज र प्रकाशनहरूको अध्ययन गर्नुपर्ने हुन्छ ।

७) निरन्तर पत्रपत्रिकाको अध्ययन गर्नु र प्रत्येक दिन कुनै न कुनै विषयमा चिन्तन मन्थन गर्ने बानीको विकासले अध्ययनलाई दीगो बनाउन मद्दत गर्दछ ।

८) वस्तुगत प्रश्नको उत्तर लेख्दा मागिएको जवाफ मात्र दिनुपर्छ जुन मापनीय पनि हुन्छ भने विषयगत प्रश्नको उत्तर दिनुभन्दा पहिले प्रश्नले मागेको उत्तर के हो पत्ता लगाउनुपर्ने हुन्छ । कहिलेकाहीँ पृष्ठभूमिमा अरू विषयवस्तुको व्याख्या गरी प्रश्नले अर्कै उत्तर मागेको पनि हुनसक्छ, साध्य र साधनका रूपमा विषयवस्तुलाई लिइएको पनि हुन सक्छ । त्यस्तै प्रश्नभित्र विभिन्न उपप्रश्नहरू पनि रहेका हुन्छन् भने कहिले सानो सन्दर्भलाई मात्र हामीले समातेर उत्तर दिने जमर्को गर्न पुगिन्छ । तर, मागेको बृहत विषयमा प्रवेश नै हुँदैन, त्यसैले प्रश्नको गहिरो अध्ययन गरेर मात्र उत्तर लेख्न शुरू गर्नुपर्ने हुन्छ ।

९) समय व्यवस्थापन र मागअनुसारको प्रश्नोत्तर गर्ने क्रममा मागिएको विषयवस्तुको जानकारीलाई बुँदागतरूपमा दिने, सुझाव मागेको छ भने समस्यासहितका सुझाव प्रस्तुत गर्ने, नेपालमा रहेका व्यवस्था र कमी कमजोरीलाई पनि प्रष्ट पार्ने तर, यी सबैलाई व्यवहारिक उदाहरणसहित प्रस्तुत गर्नुपर्ने हुन्छ ।

१०) प्रायःगरी नेपालको सन्दर्भमा लागू गर्न सकिने, समय सन्दर्भअनुसारको र अरूको लेखाइभन्दा अलि फरक सिर्जनशीलताले भरिपूर्ण भएको मौलिक लेखाइको माग अहिलेसम्मको लोकसेवा आयोगको पाठ्यक्रमले खोजेको देखिन्छ ।

११) लोकसेवाको तयारी गर्ने नव प्रवेशीहरूले स–साना समूहमा अध्ययन गर्ने, छलफलमा सिर्जनशीलताको उजागर गर्ने प्रयास गर्ने, स–साना नोटमा नयाँ विषयवस्तुका बारेमा टिपोट गर्ने, अन्तरक्रिया गर्ने र समय व्यवस्थापन र पृष्ठपोषणसहितको लेखनसीपको विकास गर्ने बानी बसाल्दा समेत लेखाइमा निख्खरता आउँछ । समूहमा अध्ययन गर्नुका साथै अध्ययन गरिएका विषयवस्तुहरूर समसामयिक सन्दर्भ, अन्तर्राष्ट्रिय तहमा भएको विकासको स्तर र नयाँ परिवेशको जानकारी राख्ने तथा समयको मागअनुसारका विषयवस्तुमा स्वचिन्तन, स्वमनन, स्वचित्त र लगाव लगाएर ती विषयलाई सन्दर्भ मिलाई प्रस्तुत गर्न सकेमा सफलता हात पर्न जान्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७