नक्कली लाइसेन्स प्रकरण : सीआइबीले समात्यो उपसचिवसहित पाँच कर्मचारी


२०८१ असार २ आइतबार ०७:१२ बजे

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले आज (आइतबार) नक्कली लाइसेन्स प्रकरणमा एक उप–सचिव, दुई अधिकृत र अन्य दुई कर्मचारी गरी पाँच जना पक्राउ गरेको छ । वन मन्त्रालयमा कार्यरत केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवल परासीमा कार्यरत पदमराज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत सुवास पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो ।

त्यस्तै जनपुरबाट दिलीपकुमार साह र चितवनबाट राजेश लम्साललाई पक्राउ गरिएको सीआइबीले जनाएको छ । केही कुराहरू बुझ्नुपर्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको सीआइबीका प्रवक्ता होविन्द्र बोगटीले बताए । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वभाविक रकम देखिएपछि उनीहरु निगरानीमा परेका थिए।

उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँ देखिएपछि सीआइबीले उनीहरुलाई निगरानीमा राखेको थियो । सीआइबीले नक्कली लाइसेन्स वितरणबारे दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको छ । पहिलो चरणको अनुसन्धानको क्रममा निगरानीमा रहेका लक्ष्मण पाण्डे अहिलेसम्म फेला परेका छैनन् ।

अर्यालको खातामा अस्वाभाविक रकम जम्मा भएको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थालेको थियो ।
अनियमित तरिकाले लाइसेन्स वितरण गरिएको विषयमा यातायात व्यवस्था विभाग स्वयंले छानबिन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानबिनका लागि प्रतिवेदनसहितका विवरण बुझाइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि यसमा चासो राखेर अनुसन्धान थालेको थियो ।

‘अहिले केही कर्मचारी र विगतमा यातायात विभागको जिम्मेवारी सम्हालेका महानिर्देशकहरूको बारेमा उजुरी आएको छ, अनुसन्धान हुन्छ,’ सम्पत्ति शुद्धीकरण विभागका एक उच्च अधिकारीले भने । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले छानबिन प्रतिवेदनसहित आवश्यक विवरण अख्तियारलाई बुझाएको बताएका छन् । अख्तियारले यतिबेला पुराना र नयाँ गरी करिब डेढ लाख थान लाइसेन्सको छानबिन गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७