सहकारी प्रकरण : संसदीय छानबिन समितिले थाल्यो कानुनी परामर्श


२०८१ असार ५ बुधबार १७:२० बजे

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले कानुनी परामर्श थालेको छ । आज (बुधबार) समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग लगायतका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानुन आयोगका सचिवसहितका अधिकारीहरूसँग परामर्श गरेको जानकारी दिए । उनले कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषय लगायतका प्रश्नहरूमा छलफल भएको बताए । उनले नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानुन आयोगका सहसचिव पार्श्वत ढुंगानासँग छलफल भएको जानकारी दिए ।

‘आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरूसँग हामीले परामर्श र छलफल गरेका छौँ । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरूमा कतिपय कानुनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषयलगायत प्रश्नहरू पनि सँगसँगै थिए । ति सबै सन्दर्भमा संविधान, कानुन र हाम्रा अभ्यासहरूले गरेका प्रबन्धहरूका सन्दर्भमा स्पष्टता महसुस भयो र त्यसका निम्ति हामीले उहाँहरूलाई आमन्त्रण गरेका थियौं’, सभापति थापाले भने । उनले आन्तरिक प्रतिवेदनहरू संकलनको काम भइरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७