विपद न्यूनीकरणका लागि यस्तो छ तनहुँको पूर्व तयारी


२०८१ असार ५ बुधबार १७:०२ बजे

–कृष्ण न्यौपाने
तनहुँ । पछिल्लो पाँच वर्षको अवधिमा तनहुँमा विपद्बाट ५६ जनाले ज्यान गुमाए । बाढी, पहिरो, चट्याङबाट ८४ जना घाइते भए भने १० जना बेपत्ता छन् । विपद्बाट घर, गोठ, विद्यालय, सरकारी कार्यालय गरी एक हजार तीन सय ३५ भौतिक संरचनामा क्षति पुग्यो । त्यस अवधिमा करोडौँ मूल्य बराबरको आर्थिक नोक्सानी भयो ।

तनहुँ जिल्ला बाढी पहिरो, चट्याङ जस्ता विपद्को उच्च जोखिममा छ । बाढी पहिरोबाट मात्रै २०७६ सालमा १२ जनाको मृत्यु, चार जना घाइते, २०७७ सालमा आठ जना मृत्यु, १५ जना घाइते, २०७८ सालमा चार जना मृत्यु, तीन जना घाइते, २०७९ सालमा दुई जना मृत्यु, दुई जना घाइते भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क छ । भौतिक सम्पत्तितर्फ २०७६ सालमा रु एक करोड २२ लाख, २०७७ सालमा रु दुई करोड ९५ लाख ७६ हजार, २०७८ सालमा रु ४१ लाख ९२ हजार पाँच सय, २०७९ सालमा रु ३१ लाख ६३ हजार पाँच सय, २०८० सालमा रु ५४ लाख ३५ हजारको नोक्सानी भएको छ ।

विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति तनहुँ प्रतिकार्य योजना तयार गरी पूर्वतयारीमा जुटेको छ । विभिन्न प्रकोपका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न आवश्यक भएकाले मनसुन, शीतलहर, आगलागी, चट्याङ, महामारी, आँधी प्रतिकार्य आपतकालीन कार्ययोजना कार्यान्वयनमा ल्याइएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

यस वर्षको बाढी पहिरोबाट तनहुँमा सात हजार प्रभावित हुन सक्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशमा यस वर्ष १५ हजार नौ सय ६९ घरधुरीका ७० हजार प्रभावित हुने आँकलन गरिएकामा तनहुँमा यस वर्ष पहिरोलाई पहिलो जोखिमको रुपमा राखिएको गौतमले बताए ।

सन् २०१० देखि २०२० सम्म गृह मन्त्रालयको तथ्याङ्कको आधारमा २०८१ सालको मनसुनबाट प्रभावित हुनसक्ने जनसंख्या करिब १२ लाख ५० हजार रहेको छ । उनले भने, ‘यस वर्षको मनसुन जेठ अन्तिम साताबाट सुरु भई असोजको दोस्रो सातासम्म रहने गरी जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विपद्को क्षति न्यूनीकरणका लागि हामी तयारी अवस्थामा जुटेका छौँ ।’ जिल्लाका चार नगरपालिका र छ गाउँपालिका पहिरोको उच्च जोखिममा छन् । पहिरोपछि बाढी, आगलागी, महामारी, सुख्खा खडेरी, सडक दुर्घटना र चट्याङ तथा हावाहुरी छन् । प्रतिकार्य योजनामा उल्लेख भएअनुसार जिल्लाका दश पालिकाका ८५ वडामध्ये ४८ वडा पहिराका जोखिममा छन् ।
पहिरोबाट व्यास नगरपालिकाको २ नं वडाबाहेक १३ वटै जोखिममा छन् । भानु नगरपालिका–४, ५, ६ र ७, भीमाद नगरपालिकाका–३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिका–९ र १०, देवघाट गाउँपालिका–१, २, ३ र ४, बन्दीपुर गाउँपालिका–१, २, ४ र ५, घिरिङ गाउँपालिका–२, ३, ४ र ५, ऋषिङ गाउँपालिका–१, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिका–४, ५ र ६ र म्याग्दे गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ पहिराका उच्च जोखिममा छन् । 

यस्तै बाढीबाट व्यास नगरपालिका–१, २, ३, ६, ८, ९, ११ र १३, भानु नगरपालिका–१, २, ५, ६, ७, ११, १२ र १३, भिमाद नगरपालिका–१, शुक्लागण्डकी नगरपालिका–४ र ८, देवघाट गाउँपालिका–१, २, ३, ४ र ५ का नदीतटीय क्षेत्र, बन्दीपुर गाउँपालिका–६ सामीकोट क्षेत्र, घिरिङ गाउँपालिका–१ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी खोला किनारका बस्ती, ऋषिङ गाउँपालिका–१, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिका–२, ४, ५ र ६ का बस्तीहरु, म्याग्दे गाउँपालिका–३ र ६ का अकला क्षेत्र उच्च जोखिममा छन् ।

गौतमले भने, ‘विपद्ले समुदायको आर्थिक, सामाजिक तथा मानवीय जीवनमा पुर्‍याउन सक्ने क्षतिलाई न्यूनीकरण गरी विपद्पछि छिटोभन्दा छिटो पूर्ववत् अवस्थामा ल्याउन प्रस्तुत योजना प्रभावकारी र कोशेढुङ्गा हुने अपेक्षा लिइएको छ ।’ विपद्को अवस्थामा प्रतिकार्यका लागि तनहुँमा उपलब्ध भौतिक, मानवीय र आर्थिक स्रोतलाई लेखाजोखा गरी जिल्ला विपद् व्यवस्थापन समितिको नेतृत्वदायी भूमिकासहित कार्ययोजना तयार गरिएको उनको भनाइ छ ।

विपद् पूर्व तयारी तथा प्रतिकार्ययोजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएको छ । यो योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाहरुको भूमिका तथा जिम्मेवारीहरु स्पष्ट रुपमा पहिचान गरेको छ । विपद्को समयमा खोज तथा उद्धार एवं आपतकालीन सुरक्षा र राहत वितरण कार्यका लागि टोली तयार अवस्थामा राखिएको छ । प्रमुख जिल्ला अधिकारी गौतमको नेतृत्वमा उद्धार सहितका सामग्री तयारी अवस्थामा छ ।

नेपाली सेनाको चापाघाटस्थित कालीभञ्जन गण (इ) बाट प्रमुख सेनानी बसन्त कार्कीको नेतृत्वमा उद्धार सामग्रीसहित ८८ जनशक्ति तयारी अवस्थामा छन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक अपिलराज बोहराको नेतृत्वमा उद्धार सामग्रीसहित २५ जना प्रहरी तयारी अवस्थामा राखिएको छ । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेडक्वाटर मनकामनाबाट प्रहरी उपरीक्षक कृष्णराज अधिकारीको नेतृत्वमा ५५ जना जनशक्ति उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

शुक्लागण्डकी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पाँच जना नगर प्रहरी, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा एक सय ९३ जना कर्मचारी, घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा ७२ जना कर्मचारी, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा उद्धार सामग्री, भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा ९९ जना कर्मचारीलाई सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा १० जना, ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा १५ जना, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा तीन जना उद्धार सामग्रीसहित तयारी अवस्थामा छन् । यस्तै स्वास्थ्य कार्यालय, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, यान्त्रिक कार्यालयलाई समेत आवश्यक सामग्रीसहित तयारी अवस्थामा राखिएको प्रजिअ गौतमले जानकारी दिए ।
निजी तथा गैरसरकारी क्षेत्रतर्फ नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, रिसेड, एनजिओ नेटवर्क, समाज सेवा समूह, सेतोगुराँस बालविकास समाज, निर्माण व्यवसायी सङ्घ, तनहुँ सेवा समाज, गैरसरकारी संस्था महासङ्घलगायतलाई आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन भनिएको छ ।

स्थानीय तहले पनि विपद्को पूर्वतयारी गरिसकेका छन् । म्याग्दे गाउँपालिकाले पालिकास्तरमा अध्यक्षको संयोजकत्वमा र वडास्तरमा वडाध्यक्षको अध्यक्षमा विपद् व्यवस्थापन समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीको भनाइ छ । अधिकारीले भने, ‘प्राकृतिक विपत्ति कतिबेला आउँछ भन्ने यकिन हुँदैन, यसलाई रोक्न सक्ने कुरा भएन, क्षति कम गर्नेतर्फ तयारी गरेका छौँ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७