नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिक रूपमा खुला गरिने


२०८१ असार ७ शुक्रबार ०५:४५ बजे

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिक रूपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिन मात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिक रूपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।

समितिका अध्यक्ष आनन्दमान जोशीले लामो समयको प्रयासपछि मन्दिर सबैका लागि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । करिब छ सय वर्षभन्दा पुरानो दाबी गरिएको यस मन्दिरमा कामी, मगर र बाहुन गरी तीन पुजारी रहेकाले जातीय सहिष्णुताको प्रतीक मानिने गरेको छ ।

यहाँ हिन्दू धर्मावलम्बीले भगवान् मान्ने गरिएका शिवजीले राजा मणिमुकुन्द सेनलाई तरबार दिएकामा सेनले एक बह्माणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र तरबारले नागको रूप लिएको जनविश्वास छ । नागले परिक्रमा गरिरहेको बेला धार्मिक अनुष्ठान गरिएको र नागले पुनः तरबारको रूप धारण गरी उडेर बन्दीपुर डाँडामा खसेको, भगवान् शिवजीको सन्देशस्वरूप खड्गदेवीको रूपमा प्रकट भई स्थापना भएको किंवदन्ती छ ।

यहाँका बन्दीपुरेले इष्ट देवताको रूपमा पुजिने देवीको यो मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेर मन्दिर दर्शन गर्दा चिताएको मनोकांक्षा पूरा हुने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । विशेष गरी सेना, प्रहरी र फलामसम्बन्धी कार्य गर्नेका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताए ।

मन्दिर बिहान ७ देखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले बताए । यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि विसं १९१६ मा एक गुठीको स्थापना गरी सञ्चालन गरिएको ‘नेपाल अधिराज्यमा तनहुँ’ नामक डिल्लीराम मिश्रद्वारा लिखित पुस्तकमा उल्लेख छ ।

खड्गदेवी मन्दिरमा हरेक दशैँको फूलपातीका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई शोभा यात्रासहित बजार परिक्रमा गरिन्छ । मन्दिर पहिले ढुङ्गैढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो । अहिले भने यहाँ तामाको छाना रहेको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७