सहकारी छानबिन समितिको बन्यो कार्यविधि, गोरखा मिडियाको नामै तोकियो (पूर्णपाठ)


२०८१ असार ७ शुक्रबार १७:५९ बजे

काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा बनेको छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । कार्यविधिमा सहकारी संस्था अनुगमन, नियमन र सुपरीवेक्षण गर्ने मन्त्रालय, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, निकाय सम्बन्धित प्रदेश सरकारको विषय हेर्ने मन्त्रालय वा निकाय, सम्बन्धित स्थानीय तह र नेपाल राष्ट्र बैंकका जिम्मेवार अधिकारीसँग सोधपुछ, अन्तरक्रिया गरिने उल्लेख छ ।

त्यस्तै, अनुसूची–२ मा ‘उल्लिखित सहकारी संस्थाका अध्यक्ष, सञ्चालक वा व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, अनुसूची–२ मा उल्लिखित सहकारी संस्थाहरूबाट रकम प्रवाह भएका गोरखा मिडिया नेटवर्क प्रा.लि.लगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, र सहकारीपीडितका तर्फबाट प्रतिनिधि, कानुन, बैंक तथा वित्तीय व्यवस्थापन क्षेत्रका विषयविज्ञहरू, समितिले उपयुक्त ठानेका अन्य सरोकारवाला व्यक्ति तथा संस्था र विषयविज्ञहरूसँग सोधपुछ गरिने’ कार्यविधिमा उल्लेख छ ।

समितिले सभाका अन्य विषयगत समिति, मन्त्रालय, विभाग, राष्ट्र बैंक र निकायहरूसँग समन्वय गर्नसक्ने जनाइएको छ । निर्णय गर्दा बैठकबाट सर्वसहमति नभएमा बहुमत सदस्यबाट निर्णय गरिने कार्यविधिमा भनिएको छ । फरक मत भएमा समितिले अभिलेख राखी प्रतिवेदनमा समावेश गरिनेछ । आवश्यक परे कार्यक्षेत्रभित्रको काम गर्नका लागि समितिकै सदस्यको नेतृत्वमा कार्यदल वा उपसमिति बनाउन सकिने जनाइएको छ । सहकारी रकम अपचलबारे छानबिन गर्न नेकपा (एमाले) का सांसद सूर्य थापा सभापति रहेको संसदीय समिति जेठ १५ गते बनाइएको हो । समिति सात सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७