दुग्ध संस्थानमा दादागिरी धेरै भयो, अब उथल-पुथल गर्छु : मन्त्री साह


२०८१ असार ७ शुक्रबार ०७:०८ बजे

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् ।

आज (शुक्रबार) एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानका लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताइन् । उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्ने गरी छलफल अघि बढेको जानकारी दिइन् ।

उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रूपमा सञ्चालन गर्नेभन्दा पनि नयाँ ढङ्गले दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी लान आवश्यक रहेको बताइन् । उनले संस्थानले किसान र दुग्ध व्यवसायीमाथि खेलवाड गर्न नमिल्ने बताइन् । उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रूपमा लैजानु पर्छ भन्ने आवश्यकता नदेखिएको स्पष्ट पारिन् ।

उनले संस्थानलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने गरी अबको एक महिनामा उथलपुथल गरिने बताइन् । उनले दुग्ध विकास संस्थानमा बिचौलिया हावी भएको भन्दै संस्था बिचौलियाले चलाइरहेको दाबी गरिन् । संस्थानमा ९ सय कर्मचारीमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताइन् । उनले स्थायी कर्मचारीलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताइन् ।

उनले भनिन्, ‘दुग्ध विकास संस्थानमा बिचौलिया हाबी छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९ सय कर्मचारी छन् । जसमा ३ सय कर्मचारीहरू अस्थायी र ६ सय कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरू जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ । दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीको टिमले थेगेर ल्याएको छ । करारका कर्मचारी हटाउन सक्ने अवस्था छैन ।’ उनले कर्मचारीले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने चेतावनी दिइन् । उनले आफूले केही मूल्य चुकाउनु परे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७