बजेट पास नहुँदासम्म संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ‘ह्वीप’


२०८१ असार ७ शुक्रबार १७:०८ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको आइतबारदेखिका सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरुलाई निर्देशन (ह्वीप) जारी गरेको छ ।

आज (शुक्रबार) पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले प्रतिनिधि सभाको आउने बैठकहरुमा बजेट निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको र ९ गतेदेखि प्रारम्भ हुने सबै बैठकमा विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत (पास) नहुँदासम्म अनिवार्य उपस्थिति हुन निर्देशन दिने निर्णय भएको बताए ।

उनले अनिवार्य रुपले उपस्थित हुन र दलको ह्वीप निर्देशनअनुसार गर्न आग्रह गरे । उनले कांग्रेस अहिले संसदमा प्रतिपक्षमा रहेको उल्लेख गर्दै प्रतिपक्षमा भएको बेलामा जनताका सवालहरु, जनजीविकाका सवालहरु, देश र जनताको पक्षका विषयहरुलाई सघन ढंगले मुखरित गरेर संसदमा उठाउनु पर्ने दायित्व प्रतिपक्षको भएको बताए ।

पछिल्लो समयमा संघीय संसदका बैठकहरुमा सदस्यहरुको उपस्थिति पातलो भएकाले नेपाली कांग्रेसका सांसदहरुलाई संघीय संसदका बैठकहरुमा निरन्तर उपस्थित हुन र देश जनताका पक्षमा आवाज उठाउन पनि निर्देशन दिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७