प्रधानमन्त्रीलाई गगनको सुझाव : नटेर्ने मन्त्री फेर्नुस्, नसके बालुवाटारबाट डेरा सर्नुस्


२०८१ असार ९ आइतबार ०६:११ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बजेटमा मन्त्रीले नटेरेको हो भने बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आइतबार सांसद थापाले स्थानीय तहमा बजेट दिने विषयमा मन्त्रीले नटेरेको भए उनीहरूलाई हटाउन नत्र आफैं बालुवाटार छोड्न चेतावनी दिएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहहरूलाई दिइने सम्मानिकरण अनुदान कटौती गर्न नहुने बताएका छन् । उनले सम्मानिकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व रहेको बताए ।

‘तर संघीय सरकारले बकस दिएको जस्तो गरेको छ, यसपालि पनि त्यस्तै भयो । स्रोत छैन भनेर सात प्रतिशत सम्मानिकरण अनुदान कम गरेर दिने भन्ने कुरा आएको छ,’ थापाले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने ? यो अस्वीकार्य छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई स्थानीय सरकार प्रमुखहरूले सम्मानिकरण अनुदान १०० प्रतिशत नै चाहिन्छ भनेर भनेको विषय पनि उनले सुनाए । ‘तर प्रधानमन्त्रीले भन्नु भएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्,’ प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै थापाले भने, ‘यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७