कहिले सकिन्छ नागढुंगा सुरुङ मार्ग निर्माण ? यस्ता छन् चुनौति


२०८१ असार ९ आइतबार १८:२४ बजे

काठमाडौं । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको हो । टोलीले आयोजनाको प्रगति, समस्यालगायतका विषयमा जानकारी लिएको छ ।

अनुगमन टोलीका संयोजक तथा आयोग सदस्य डा. फुँयाललाई बिफ्रिङ गर्दै आयोजना निर्देशक रमेश कोइरालाले भौतिक प्रगति ७६ प्रतिशत भन्दा बढी र वित्तीय प्रगति ७० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । यस अवधिमा आयोजना सम्पन्न हुने उनले बताए । यद्यपि, अनुगमनका क्रममा केही समस्याहरु भने देखिएका छन् ।

आयोगका सदस्य डा. फुँयालका अनुसार केही कित्ताहरुको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) बनाउने केही चुनौतीहरु रहेका छन् । ‘एउटै जग्गा सडक विभागको र स्थानीयको नाममा देखिएकाले आरएसएस निर्माणमा समस्या भएको रहेछ ।’

अनुगमन टोलीका संयोजक डा. फुँयालले भने, ‘अनुगमनका क्रममा केही मुआब्जाको समस्या, घर चर्किएको र निर्माण व्यवसायीको कर छुटको समस्या पनि देखियो ।’ देखिएका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा आयोजनाले सोच्नुपर्ने उनले बताए । समस्याहरु समाधान गर्न सकिए सुरुङमार्ग निर्धारित समयमा नै सम्पन्न हुने देखिएको उनको निष्कर्ष छ । अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७