मर्चवारमा बहुउद्देशीय सडक निर्माण


२०८१ असार १० सोमबार ०४:०४ बजे

लुम्बिनी । रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

‘सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ’, कोटहीमाई–४ का राम बचन यादवले भने, ‘अब हिउँद र बर्खामा पनि आवत-आवत गर्न समस्या हुने छैन ।’ स्थानीयवासी जगदिश वर्माले सडकले सिँचाइ र जल निकास समेतको उचित प्रबन्ध गरेको , वडा नं ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई अन्त्य गरेको बताए । उनले जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानीलगायत कार्यका लागि पनि सडक उपयोगी रहेको जानकारी दिए ।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निर्माण गरिएको बताए । उनले भने, ‘सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाइ निकास दिइएको छ ।’ सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मतसम्भारको योजनासहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।’

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार सडकको निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । ‘हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ’, उनले भने, ‘यसको विशेषता बहुउद्देशीय उपयोग हो ।’

मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताए । अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ । सडक निर्माणले घर–जग्गाको मूल्याङ्कन पनि बढेको उहाँले बताए । ‘यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो’, अध्यक्ष त्रिपाठीले भने, ‘यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ । निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७