जब बसभित्रै गुजुल्टिएका तीन शव भेटिए..


प्रकाशित मिति : October 30, 2017

काठमाडाैं : शनिबार बिहान ५ बजेतिर धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडस्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस डुबेको खबर आएपछि हामी उद्धारका लागि क्षणभरमै तयार भयौं । यो खबर विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी बलका जवान भट्टराईसँग राजधानी दैनिकका रोशन श्रेष्ठले  लेखेकाे छन् ।

सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम केन्द्रमा कार्यरत हामीहरूको काम नै यथाशक्य चाँडो उद्धारमा खटिनु हो । एकाबिहानै सञ्चार सेटमा यस्तो दुःखद खबर आएपछि हामी आवश्यक सामग्री बोकेर त्यसतर्फ लाग्यौं ।

हामी सशस्त्र प्रहरी निरीक्षक अजयकुमार थापाको कमान्डमा १९ जनाको टोली घटनास्थल पुग्यौं । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रबाट घटनास्थल ५५ किलोमिटरको दूरीमा पर्छ । हामी त्यहाँ पुग्दा त्यस्तै साढे ६ जति बजेको थियो ।

हामी घटनास्थल पुग्दा स्थिति अत्यन्तै कारुणिक थियो । यात्रुहरू जताततै छरिएका थिए । सबै यात्रु पीडाले छटपटिरहेका थिए । कतिपय उद्धार र सहयोगका लागि याचना गरिरहेका थिए । उनीहरूको स्थिति हेर्दा अधिकांश पौडेर नदीकिनारमा आउन सफल भएका जस्ता देखिन्थे । कतिपयमा भने आफन्त नभेटिएको पीडा देखिन्थ्यो । केही व्यक्ति भक्कानो छाडेर रोइरहेका थिए ।

पहिला नदीकिनारमा अलपत्र परेका १६ यात्रुलाई मुख्य सडकमा ल्यायौं । कसैलाई बोकेर ल्याउनुप¥यो भने कसैलाई डो¥याएर । सामान्य घाइते भएका कोहीकोही भने आफैं हिँडेर पनि मुख्य सडकमा आए । मुख्य सडकमा ल्याइसकेपछि उनीहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पठाउने काम ग¥यौं । यी सबै काम गर्दा बिहान सवा ७ बजिसकेको थियो ।

घाइतेहरूलाई उद्धार गरिसकेपछि हामीहरू बसको खोजीमा जुट्यौं । बसको खोजीमा जुट्दा बिहानको साढे सात बजिसकेको थियो । हुन त हामीले घाइतेहरूको उद्धारका लागि नदीकिनारमा पुग्दा बस देखेका थिएनौं ।

बस पूरै डुबेको थियो । बस पुरै डुबेकाले कोही पनि यात्रु जीवित नरहेको भन्दै हामी घाइतेहरूको उद्धारमा जुटेका हौं । पानीमा डुबेको मान्छेको दुईतीन मिनेटमै मृत्यु भइसक्छ ।

सशस्त्र प्रहरी बलमा अहिले २० जना तालिमप्राप्त गोताखोरको टोली छ । कुरिनटारस्थित हाम्रो तालिम केन्द्रमा भने हामी पाँच जना मात्र गोताखोर छौं । त्यसबेला हाम्रो टोलीमा भने सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार वीरेन्द्रबहादुर कार्की, हवल्दार नरेन्द्रसिंह भण्डारी र मसहित तीन जना गोताखोर थियौं ।

आवश्यक सामानसहित बसको खोजीका लागि हवल्दार भण्डारी र म पानीभित्र छि¥यौं । वरिष्ठ हवल्दार कार्की भने आवश्यक सहयोगका लागि बाहिर बस्नुभयो । पानीभित्र पस्दा सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान हामीले बोक्यौं । पानीमा पस्दा सुट, बुट, नाइफ, मिडल, अक्सिजन, चस्मालगायतका सामान आवश्यक पर्छ । यी सामानसहित पानीमा पस्दा एक घण्टासम्म पानीभित्रै रहेर काम गर्न सकिन्छ ।

अक्सिजनले पनि एक घण्टा जति काम गर्छ । तर, पानी अत्यन्तै चिसो भएको, चाँडोचाँडो स्वास फेर्नुपर्ने परेकाले अक्सिजनले ४५ मिनेटभन्दा बढी काम गरेन । अर्को कुरा, शव निकाल्नुपर्दा सास झन् चाँडो चाँडो फेर्नुपर्छ । बल पनि अलि बढी नै प्रयोग गर्नुपर्छ । समग्र उद्धारका हामी दुई जना गोताखोरले आठवटा जति अक्सिजन प्रयोग ग¥यौं ।

बिहान सबेरै भएकाले पानी अत्यन्तै चिसो थियो । छुँदा पनि हातै ठिहि¥याउने । पानी धेरै सङ्लो पनि थिएन, धेरै धमिलो पनि थिएन । जस्तोसुकै भए पनि पानीभित्र छिर्नैपथ्र्यो । पानीभित्र पसेको केही समयमै हामीले बस भेट्टाइहाल्यौं । सो बस पानीको सतहबाट झन्डै २० फिट जति गहिराइमा डुबेको थियो ।

त्रिशूली नदीमा डुबेका कतिपय बस, ट्रक र पूर्वगृहमन्त्री माधव घिमिरे सवार स्कारपिओ जिप अझै भेट्न सकिएको छैन । कतै यो बस पनि फेला नपर्ला कि भन्ने डर हामीमा थियो । तर, यस्तो भएन, हामीले समयमै बस फेला पार्न सक्यौं । पानीको जुन गहिराइमा बस भेटेका थियौं, त्यहाँ पानीको वेग तीव्र थिएन ।

नदीभित्रबाट १ सय ५० भन्दा बढी शव निकालेका सशस्त्र प्रहरी जवान भट्टराईको शनिबार धादिङमा भएको बस दुर्घटनाको उद्धार अनुभव

वेग तीव्र भएको भए बस भेट्न पनि मुस्किल पथ्र्यो । भेटिइहाले पनि उद्धारका लागि सारै गाह्रो हुन्थ्यो । पानीको वेग तीव्र भएको भए शवहरू बग्न पनि सक्थे। बस भेट्दा बसको अगाडिपट्टिको क्याबिनको भागको सिसा फुटेको थियो। हामी फुटेकै भागबाट बसभित्र पस्यौं । पानीभित्र झण्डै डेढ मिटरसम्म प्रस्ट देखिन्थ्यो । यसले हामीलाई मृत शरीर खोज्न धेरै समय लागेन ।

बस भेटियो, बसभित्र पस्यौं । बसभित्रको स्थिति अत्यन्तै दयनीय थियो । बसभित्र मृत शरीर जताततै देखिन्थ्यो । कतिपय शव त एकमाथि अर्को खप्टिएको । धेरै त एकले अर्कोलाई हातमा समातेको जस्तो अवस्थामा थिए।

बसभित्र सबैभन्दा दर्दनाक र जीवनभर बिर्सिन पनि नसकिने एउटा घटना के थियो भने एक युवक र एक युवती सानो बच्चालाई बीचमा राखेर एकले अर्कालाई अँगालो मारेको अवस्थामा थिए ।

तीनवटै शवलाई हामीले अलगअलग नगरीकन बाहिर निकाल्यौं । तीनवटा शवलाई सँगै निकाल्दा बाहिर बसेका कतिपय अचम्ममा पनि परे । कारण के हो भने, केटा केटी दुबैले बच्चालाई च्यापेको । यो दृश्य अहिले पनि पटकपटक सम्झिरहेको छु ।

हामीले पानीभित्र बस भेट्दा कतिपय सिटहरू भाँचिएका थिए । धेरैजसो सिसा फुटेका थिए । बसभित्रबाट शव निकाल्नुपर्ने भएकाले कतिपय सिसा हामीले पानीभित्रै फुटायौं पनि । सामान्य अवस्थाका शव बाहिर निकाल्न हामीलाई दुई तीन मिनेट पनि लागेन ।

सिटले च्यापिएका, अड्किएका मृत शरीर निकाल्न अलि समय भने लाग्यो । एउटा पुरुषको शव निकाल्न भने हम्मेहम्मे नै प¥यो । त्यो शव दुई ओटा सिटको चेपमा अड्किएको थियो । त्यो शव निकाल्न झण्डै आधा घण्टा नै लाग्यो । झन्डै २० मिनेटसम्म हामी पानीभित्रै रह्यौं ।

पानीभित्र पसेका हामी दुई जनालाई ३१ वटा मृत शरीर निकाल्न साँझको ४ नै बज्यो । त्यसपछि सो बसलाई डोरीले बाँधेर अन्य साथीहरूको सहयोगमा नदी किनारमा ल्याउन सफल भयौं । घटनास्थलको प्रकृति र पानीभित्र बसको अवस्था हेर्दा केही व्यक्तिलाई बगाएको पनि हुन सक्छ ।

मैले बंगलादेशबाट तीन महिना लामो गोताखोर तालिम लिएको छु । सो तालिमका क्रममा म पानीको सतहबाट १ सय ८० फिट मुनिसम्म गएको छु । गोताखोर तालिम गरेका कतिपय साथीहरूको कानै नसुन्ने समस्या पनि देखियो । यो ‘रिकभर’ हुन पनि वर्षौ लाग्दो रहेछ ।

मलाई पानीभित्रबाट मृत शरीर निकाल्ने राम्रो अनुभव छ । तीन वर्षअघि जाजरकोटस्थित भेरी नदीमा भएको बस दुर्घटनाका ४७ जनाको शव पानीबाट निकाल्न पनि मैलै ठूलो भूमिका खेलेको थिएँ । यस्तै, फेवातालमा डुबेका दुई जनाको शव ३५ फिट मुनिबाट निकाल्न सकें ।

एक वर्षअघि सवारी दुर्घटनामा त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि त्रिशूलीको धमिलो पानीमा २५ फिटमुनिसम्म गएर खोजी गर्ने टोलीमध्येमा म पनि संलग्न थिएँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभन्ज्याङ–५ स्थित कालीखोलामा गएको पहिरोले बगाएर भीरमा अड्किएको शवलाई पनि कुशलतापूर्वक निकाल्न सफल भएको छु ।

यस्तै, पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो । उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सहायक हवल्दार शिरबहादुर थापा र मैलै रोप ट्विन मेथोडबाट शवलाई बाँधेर निकाल्यौं ।

६ जेठ २०७२ मा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवन चण्डी भन्ज्याङ गाविस–५ स्थित कालीखोलामा पहिरोले बगाएर मृत्यु भएकी ५० वर्षीय मंगले चेपाङलाइ ¥याप्लिङ, क्लाइम्बिङ गर्दै भीरको ढुंगामा अड्किएको शवलाई तानेर काँधमा राखी भीरबाट ल्याएको थिएँ । मैलै अहिलेसम्म सानाठूला धेरै घटनामा नदीभित्रबाट मृत शरीर निकालेको छु । अहिलेसम्म डेढ सय कट्यो होला ।

प्रतिक्रिया दिनुहोस्