माथिल्लो तामाकोशीको आईपीओ असार २४ मा, १२ गते आह्वानपत्र सार्वजनिक हुने


८ असार २०७५, शुक्रबार
IPO

काठमाडौं, ८ असार । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको साधारण शेयर (आईपीओ) को प्रतिक्षाको घडी अब समाप्त भएको छ । आउँदो असार २४ गते आइतबारदेखि माथिल्लो तामाकोशीको आईपीओका लागि आवेदन खुला हुने भएको हो ।IPO

प्रवद्र्धक अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले २४ गतेदेखि आईपीओको निष्कासन खुला गर्न १२ गते आब्हानपत्र सार्वजनिक गर्नेछ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेकाले २४ गते निष्कासन हुन लागेको हो । अपर तामाकोशी र बिक्री प्रवन्धक नागरिक लगानी कोषबीच शुक्रबार भएको बैठकले असार २४ सम्म आईपीओ निष्कासन गर्ने निर्णय गरेको कोषका शेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई एउटै आब्हापत्र आउने उनले जानकारी दिए ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्कासन हुनेछ । पहिलो चरणको बाँडफाँडपछि दोस्रो चरणको निष्कासन हुने कार्कीले बताए । स्थानीयबासिन्दालाई १५ दिनको म्याद दिएर आईपीओ आउने छ । सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

स्थानीय र सर्वसाधारण गरी माथिल्लो तामाकोसीले २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ । तामाकोशीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको ९६ प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७