अब नेपालमा पुरुषले पनि नर्सिङ पढ्न पाउने, छुटियो १५ प्रतित कोटा


१० असार २०७५, आईतवार
Male Nurse

काठमाडौं, १० असार । नर्स भन्ने बित्तिकै हामी सबैको आँखामा सेतो पोसाक लगाएका महिला वा युवतीको तस्विर आउँछ । अहिलेसम्म हामीले महिलालाई मात्र नर्स काममा देखेका छौं । तर, अब पुरुष पनि नर्स हुन पाउने भएका छन् । Male Nurse

नेपाल नर्सिङ काउन्सिलले यो शैक्षिक सत्रदेखि नर्सिङ अध्ययनमा पुरुषहरुलाई पनि अध्ययन गर्न पाउने व्यवस्था गरेको छ । काउन्सिलले शैक्षिक सत्र २०७५-७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको छ । काउन्सिलको असार ५ गतेको बैठकले यस्तो निर्णय गरेको हा े। काउन्सिलले उक्त निर्णय कार्यान्वयमा ल्याउन सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई जानकारी गराइसकेको छ ।

नर्सहरुको छाता संस्था नेपाल नर्सिङ संघले पनि नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै आएको थियो । स्वास्थ्य मन्त्रालयले केही समय अगाडि गठन गरेको नर्सिङ क्षेत्रका समस्या समाधानका लागि गठित समितिले पनि नर्सिङ अध्ययनमा पुरुषलाई अवसर दिनुपर्ने सुझाब दिएको थियो ।

काउन्सिलको यो निर्णयसँगै अव नर्सिङ कलेजहरुले कूल विद्यार्थी भर्नामध्ये कम्तिमा १५ प्रतिशत पुरुषलाई भर्ना गर्न पाउने छन् । सरकारी तथ्याङ्क अनुसार हाल नेपालमा वार्षिक एक सय २५ भन्दा बढी नर्सिङ कलेजबाट ७ हजार ७ सय ४० जना नयाँ नर्सिङ जनशक्ति उत्पादन हुँदै आइरहेको छ । यो कार्यान्वयनमा आएपछि हालको कोटाका आधारमा नेपालमा वार्षिक ११ सय ५५ जना पुरुष नर्स उत्पादन हुनेछन् ।

नेपालमा कति नर्स ?

नर्सिङ काउन्सिलको पछिल्लो तथ्याङ्क अनुसार हाल नेपालमा ८१ हजार ९० नर्स दर्ता छन् । त्यसमध्ये ४९ हजार ३४ जना नर्स, ३१ हजार २२१ अनमी र ८३५ विदेशी नर्सको दर्ता छ ।
नेपाल नर्सिङ संघको पछिल्लो तथ्याङ्क अनुसार दर्ता भएका नर्समध्ये सरकारी जागिरमा १२ हजार र निजी स्वास्थ्य संस्थामा २२ हजार नर्स कार्यरत छन् । संघकै तथ्याङ्क अनुसार करीब १५ हजार नर्स विदेशिएका छन् ।

२३ वर्षअघि नेपालमा पुरुष नर्स

काउन्सिलको तथ्याङ्क अनुसार नेपालमा हाल लगभग ७० जना पुरुष नर्स छन् । नेपालमा २०५० सालभन्दा अगाडि चार ब्याचसम्म पुरुष नर्स उत्पादन भएका थिए । तर, चार ब्याचपछि उक्त कार्यक्रम रोकिएको थियो । चार वर्षको अवधिमा नेपामला ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए ।

नेपालमा सबैभन्दा पहिला २०४६ सालमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भएको हो । तत्कालीन समयमा राजपरिवारका सदस्यहरु अस्पताल भर्ना हुँदा नर्सिङ सेवा लिने क्रममा पुरुष नर्सको आवश्यकता महसुस भएपछि नेपालमा पुरुष नर्सको अध्ययनको बाटो खुलेको थियो । आइओएमले त्यतिबेला १० प्रतिशत पुरुषलाई पिसिएल नर्सिङ अध्ययनका लागि भर्ना लिएको थियो ।

केही समयअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको नेपाल नर्सिङ संघको १३ औं राष्ट्रिय सम्मेलनमा पनि पुरुष नर्स उत्पादन गर्ने विषयमा बहस चलेको थियो । सम्मेलनमा संघकी अध्यक्ष तारा पोखरेलले विदेशमा पुरुष नर्स हुने भएकाले लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स हुनुपर्ने बताएकी थिइन् । उनले बिरामीको सेवा गर्न पुरुषहरु पनि उत्तिकै इच्छुक देखिएकाले पुरुष नर्सको जनशक्ति उत्पादन गर्न संघले काउन्सिलमाफर्त सरकारसँग माग गरेको जनाएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७