एसईई नतिजा निरासाजनक, १.६ देखि २.० ल्याउने धेरै


१० असार २०७५, आईतवार
1 2462018032727

काठमाडौं, १० असार । उत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा एसईईको नतिजाले उत्साह ल्याए पनि समग्र परीक्षा नतिजाको अवस्था हेर्दा निरासाजनक देखिएको छ ।1 2462018032727

अनिवार्य गणित बाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिंदा पनि एसईई नतिजा गत वर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको तथ्याङ्कले देखाएको छ । गतवर्ष १.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ८२.३८ प्रतिशत रहेकोमा यस वर्ष ७५.९२ प्रतिशतमा झरेको छ । तीन वर्षअघि यही समूहको जीपीए ल्याउने विद्यार्थी ८४.३३ प्रतिशत थिए । यस वर्षदेखि कक्षा १० मा गणित बाहेक अनिवार्य सबै विषयमा २५ प्रयोगात्मक नम्बरको व्यवस्था गरिएको थियो ।

४ लाख ५१ हजार ५३२ नियमित विद्यार्थीले परीक्षा दिएकोमा २ देखि ४ जीपीए ल्याउने ३ लाख ४२ हजार ८२६ जना (७५.९२ प्रतिशत) मात्रै छन् । तै पनि नतिजाबाट निरुत्साहित हुनुपर्ने अवस्था नरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
लोकसेवा आयोगले २ जीपीए ल्याएका मात्रै निजामती सेवामा प्रवेश गर्न पाउने आधार तय गरेको छ । कक्षा ११ भर्ना हुन १.६ जीपीए अनिवार्य हुनुपर्ने व्यवस्था छ । १.६५ भन्दा बढी ल्याउने विद्यार्थीको नतिजा हेर्दा हरेक वर्ष खस्किएको देखिन्छ ।

त्यस्तै ०.८५ देखि १.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६८८ छ । उनीहरू मानविकी, व्यवस्थापन, कानुन, विज्ञानलगायत अन्य कुनै पनि समूह अध्ययन गर्न अयोग्य हुन्छन् । तर उनीहरूले आउँदो साउन २३ देखि हुने ग्रेड वृद्धि परीक्षामा सहभागी भएर ग्रेड बढाउन भने सक्नेछन् । जुनसुकै विषयमा सी, डी प्लस, डी र ई ल्याउने विद्यार्थीले पुनः ग्रेड वृद्धि परीक्षा दिन पाउँछन् ।

११ कक्षा अध्ययन गर्न कम्तीमा १.६ जीपीए अनिवार्य ल्याएकै हुनुपर्ने प्रावधान छ । दुई वर्षअघि १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी २३.८४ प्रतिशत थिए । गतवर्ष बढेर २४.३४ पुग्यो । यसवर्ष यो प्रतिशत घटेर २२.३७ प्रतिशतमा झरेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ३.६५ देखि ४ जीपीए ल्याउने कूल विद्यार्थी ३.१५ प्रतिशत मात्रै छन् । यो समूहको जीपीए ल्याउनेमा गत वर्षभन्दा केही सुधार भएको छ ।

गतवर्ष २.७५ प्रतिशत मात्रै थियो । दुई वर्षअघिको नतिजाको तुलना गर्ने हो भने यो समूहको जीपीए प्राप्त गर्ने शून्य दशमलव ११ प्रतिशतले घटेको छ । त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५२ प्रतिशत थिए भने यसवर्ष १०.२१ प्रतिशत पुगेको छ । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी भने तीन वर्षकै कम देखिएको छ । तीन वर्षअघि यो समूहको जीपीए प्राप्त गर्ने ११.११ प्रतिशत रहेकोमा गतवर्ष ११.३६ प्रतिशत थिए भने यसवर्ष १०.८६ प्रतिशत मात्रै छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ जीपीएमा ४ नै ल्याउने २४ जना छन् । ३.९६ जीपीए ल्याउने १० जना र ३.९५ जीपीए ल्याउने ११३ जना छन् । २ जीपीए ल्याउनेले विज्ञान, १.६ ल्याउनेले मानविकी, कानुन, शिक्षा र व्यवस्थापन समूह अध्ययन गर्न पाउँछन् । तर निश्चित विषयमा पनि ग्रेड पूरा गरेको हुनुपर्छ । विज्ञान समूह अध्ययन गर्न २ जीपीए ल्याएका विद्यार्थी योग्य भए पनि अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएकै हुनुपर्छ । नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । व्यवस्थापन समूहका विषय अध्ययन गर्न १.६ जीपीए र विषय ग्रेडमा अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।

मानविकी समूह अध्ययन गर्न पनि १.६ जीपीए अनिवार्य छ । तीन सय पूर्णाङ्कको विषय छनोट गर्दा एसईईमा अनिवार्य विषय अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस आएको हुनुपर्छ । अंग्रेजी, नेपाली, समाजशास्त्र, आमसञ्चार, ग्रामीण विकास रोज्दा जीपीए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । विज्ञान र गणितमा ई ल्याए पनि अध्ययन गर्न पाइन्छ । शिक्षा समूह अध्ययन गर्न पनि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ । शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्ने हुन्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएका विद्यार्थीले साधारणतर्फ पनि कक्षा ११ मा भर्ना हुन पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७