असारभित्रै सबै स्थानीय तहमा कर्मचारी पुग्छन् : मन्त्री पण्डित


११ असार २०७५, सोमबार
lalbabu pandit 1

मोरङ, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असारभित्रै सबै स्थानीय तहमा कर्मचारी पुगिसक्ने बताएका छन् । उनले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको समेत जानकारी दिएका छन् ।

lalbabu pandit 1
फाइल फोटो

विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसँग कुराकानी गदै मन्त्री पण्डितले प्रशासनिक अन्तरिमकालीन अवस्था असार मसान्तसम्म चल्ने र त्यसपछिका दिनमा सबै स्थानीय तहले कर्मचारी अभाव झेल्नु नपर्ने दावी गरे ।

मन्त्री पण्डितले स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा भएको र अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको जानकारी दिएका छन् । अब सहायकस्तरका कर्मचारी पनि असार मसान्तभित्र पठाई सकिने उनले बताए । स्थानीय तहमा तल्ला तहका कर्मचारी करारमा नियुक्ति गर्नेक्रममा जनप्रतिनिधिका आफ्नै छोरी, भाइ, जेठान भएको पाइएपछि तत्काललाई स्थानीय तहमा कर्मचारी नियुक्ति बन्द गरिएको उनले जानकारी दिएका छन् ।

उनले केन्द्रीय तहबाट हाललाई कर्मचारी व्यवस्थापन गर्ने र चाँडै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवामार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति गरिने जानकारी दिए । मन्त्री पण्डितले सरकारले पठाएको स्थानमा नजाने कर्मचारीलाई मन्त्रालय गएर हाजिर गरेर बस्न कसैलाई छुट नदिने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७