नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर


१४ कार्तिक २०७४, मंगलवार
banijya

काठमाडौँ: नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।banijya

उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे ।

सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक सहकार्य, प्रविधिमा सहकार्य विस्तारका लागि तेस्रो मुलुकमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । दुई संस्थाबीच सन् १९९३ मा भएको सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

विभिन्न आठ बुँदामा भएको सहमतिमा दुवै पक्षको चासो र हितलाई विस्तार गर्न सहजीकरण गर्दै अघि बढ्ने, व्यापारी प्रतिनिधि आदानप्रदान गर्ने, साझा विषयलाई आदानप्रदान गर्नेजस्ता विषय उल्लेख गरिएको छ ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले अष्ट्रिया र नेपालबीच भएको औैद्योगिक ज्ञान, सिप तथा प्रविधिलाई आदान÷प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।

मन्त्री थापाले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्नका लागि द्विपक्षीय उच्च भ्रमण हुनुपर्नेमा जोड दिए । उनले केबलकार अष्ट्रियाको प्रविधि विश्वकै उदाहरणीय भएको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा सिके पौडेल र उद्योग सचिव यामकुमारी खतिवडाले राजनीतिक तथा नीतिगतरुपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको भन्दै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

नेपालका लागि अष्ट्रियाका राजदूत ब्रिजीट ओपिङ्गरले आफ्नो मुलुकका उद्योगी व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी दिँदै आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा संविधान जारी भई कार्यान्वयनको चरणमा शान्तिपूर्ण तवरले निर्वाचन भइरहेको उल्लेख गर्दै भने, “राजनीतिक स्थायित्व र दोस्रो पुस्ताको नीतिगत सुधारबाट नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ ।”

अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले लगानीका लागि नेपाल उपयुक्त अवसर भएकाले त्यसको अवसर लिन आफ्नो देशका उद्योगी आतुर रहेको उल्लेख गर्दै लगानीलाई आगामी दिनमा थप विस्तार गर्ने बताए । नेपालमा लगानीको अवसर खोज्ने क्रममा अष्ट्रियन इकोनोमिक च्याम्बरका प्रतिनिधि तथा त्यहाँका उद्योगी नेपाल भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७