दलहरूकाे चुनावी गठबन्धनबारे के भन्छन् वुद्धिजीवी ?


१४ कार्तिक २०७४, मंगलवार
uml congress and moist

काठमाडौँ : आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को चुनावी गठबन्धनपछि नेपाली काँग्रेस र अन्य दलबाट लोकतान्त्रिक गठबन्धन बनेको हो । दुई गठबन्धनका कारण चुनावी प्रतिस्पर्धा पेचिलो हुनाका साथै रौनक पनि बढेको छ ।

uml congress and moist

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रले बहुमत ल्याएमा मुलुकमा अधिनायकवाद आउने वा लोकतन्त्र खतरामा पर्ने लोकतान्त्रिक गठबन्धनका नेताहरूले व्यक्त गरिरहेका छन् । तर बुद्धिजीवीहरूले अहिलेको समयमा नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउने सम्भावना नरहेको औल्याएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक डा लोकराज बरालले भने, ‘विकसित मुलुकमा पनि यस्ता गठबन्धन हुन्छन्, कतिपय मुलुकमा निर्वाचनपछि पनि हुने गरेका छन् । दलहरू एक्ला एक्लै लड्दा वर्चस्व गुम्ने खतराका कारण गठबन्धन बनाएका हुन् । यसलाई स्वभाविकरूपमा लिनुपर्छ ।’ उनले भारत, बेलायत, रुस र जर्मनीमा पनि यस्तो गठबन्धन देखिएको बताउँदै दुवै गठबन्धनले सत्ता प्राप्तिको स्वार्थका लागि यो प्रयास गरेको टिप्पणी गरे। बरालले भने, ‘नेपालमा दलहरूको गठबन्धनका कारण अधिनायकवाद आउँदैन । आएमा अरु नै कारणले आउने हो, त्यो पनि अहिले सम्भव छैन । लोकतान्त्रिक पक्षले वामपन्थीले बहुमत ल्याएमा एकपक्षीयरूपमा राज्य संयन्त्रमा काम गर्ला भन्ने चिन्ता गरेको मात्र हुन सक्छ ।’

नेपालमा माक्र्स र एगलेल्सको सर्वहारा वर्गीय उत्थान तथा द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई पालना गर्दै २००६ वैशाख ९ गते पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिष्ट पार्टी स्थापना भएदेखि टुटफुट, विभाजन, आरोप–प्रत्यारोप र एकताको शृंखला चल्दै आएको छ ।

यी दलको एकता संयोजन समिति र केन्द्रीय तहमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरूले भने चुनावपछि आफूहरूले पार्टी एकता गर्ने र बहुमत ल्याई स्थिर सरकार दिने जनाउँदै आएका छन् । मुलुकलाई समृद्ध र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एकता र तालमेलको घोषणा भएको थियो । वाम विश्लेषक एवं स्तम्भकार नरेन्द्रजंग पिटरका विचारमा मुलुकमा वामपन्थीहरूको जनमत भएकाकारण गठबन्धनले आशा र विश्वास जगाएको प्रतिक्रिया दिए ।

कुनै अधिनायकवादको प्रश्न नउठ्ने भन्दै उनले आशंका र आतंक पैदा गरेर समर्थन लिने कोसिस मात्र गरिएको जनाए । माक्र्सवादी चिन्तक गोपसीरमण उपाध्याय पनि वामपन्थीहरूबीचको एकताको प्रयास विगत एक दसकदेखिकै शृंखला भएकाले एकाएक आएको जसरी बुझ्न आवश्यक नभएको बताउनुहुन्छ । उहाँको विचारमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल अन्ततः पार्टी एकतामै पुगेर टुङ्गिन्छ, एकता नभए त्यसको क्षति मुलुकले व्यहोर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७