कठिन मोडमा लियोनल मेस्सी


१२ असार २०७५, मंगलवार
Messi 2

काठमाडौं, १२  असार: स्पेनका वैज्ञानिकहरूरु भन्छन्, ‘फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ छ ।’ अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेर हेरेपछि यस्तो बताएका हुन् ।

मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूको भनाई छ । अर्जेन्टिनाको रोसारियो शहरबाट १३ वर्षकै उमेरमा बार्सिलोना आएका मेसीको धेरै समय स्पनेमै बितिरहेको छ । आफ्नो क्लब बार्सिलोनालाई अनेकौ उपाधी दिलाए । मेस्सीले ३२ वटा उपाधि र बार्सिलोनाबाट १४ सिजन खेल्दा पाँच ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका भए पनि विश्वकप अहिलेसम्म जित्न सकेका छैनन् ।

Messi 2

सन् २०१७र१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए। यो सन् २०१४र १५ यताको सबैभन्दा धेरै हो । अझ विगत पाँच वर्षको समयमा उनले खेलेको सबैभन्दा धेरै खेल संख्या हो त्यो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका छन् । त्यति हुँदा पनि बार्सिलोनाका लागि उनले उक्त सिजनमा ४५ गोल आफैँले र १८ पटक अरूलाई गोल गर्न सघाएका छन् ।

विश्वकपमा मेस्सीको यो चौथो सहभागिता हो । सन् २००६ र २०१० मा आर्जे्न्टिना क्वार्टर फाइनलसम्म पुगेको थियो। सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर मेस्सीले ‘गोल्डन बल’ जितेका थिए । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ६४ खेलमा सहभागी भएका क्रेस्पोले ३५ गोल गरेका थिए । उनीभन्दा अरू दुई खेलाडीले मात्रै बढी गोल गरेका छन् । मेस्सीलाई सबैले महान् खेलाडी मान्ने गरेका छन् । क्लबमा उत्कृष्ट प्रर्दशन गरीरहेका मेस्सीको जीवनमा अब एउटै काम अर्थात् सपना बाँकी हो, त्यो उनको नेतृत्वमा विश्वकप जित्ने । यसअघि आफ्नो देशलाई उपविजेता बनाएका मेस्सीमाथि यसपाली निकै ठुलो आशा थियो । तर, त्यो आशा कमजोर बनेको छ ।

कोपा अमेरिकामा पराजित भएपछि सन् २०१६ मा मेस्सीले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे । राष्ट्रपतिदेखि विशिष्ट व्यक्ति तथा पूर्व फुटबलरहरुले सन्यास फिर्ता लिन आग्रह गरे । अनि, मेस्सी फर्किए । सन्यास फिर्ता लिएर फर्किएकै खेल, विश्वकपको दक्षिण अमेरिकी छनोटमा उरुग्वे विरुद्ध गोल गरे । कमजोर अवस्थामा रहेको अर्जे्न्टिनाले जित्दै गयो । अन्तिम खेलमा इक्वेडरलाई हराएर मात्रै सोझै विश्वकपमा छानिने अवस्था थियो । मेस्सीले ह्याट्रिक गर्दै खेल ३–१ ले जिताए ।

अर्जेन्टिनालाई क्रोएशियाले गत बिहीबार राति भएको खेलमा ३–० ले पराजित गरेपछि अस्तव्यस्त र निराश मुद्रामा ड्रेसिङ रूमतिर फर्किंदै गरेका लिओनेल मेस्सीको तस्बिर विश्वकप २०१८ को सबैभन्दा चर्चितमध्येको एउटा प्रतीक बनेको छ । दुईवटा खेल समाप्त हुँदा पाँच पटक विश्वका सर्वोत्कृष्ट खेलाडीको उपाधि पाइसकेका मेस्सीले कुनै पनि गोल गर्न वा अरूलाई गोल गर्न सघाउन सकेनन् । बरु उनी आइस्ल्यान्डसँगको पहिलो खेलमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्न समेत असफल रहे । लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना गत विश्वकपमा फाइनल पुगेको थियो । तर, यतिबेला उनकै कप्तानीमा रहेको दक्षिण अमेरिकाको यो बलियो राष्ट्र समूह चरणबाटै बाहिरिने अवस्थामा छ ।

कठिन मोड
आज राती ११ बजेर ४५ मिनेटमा शुरु हुने समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिनाले अफ्रिकाको बलियो राष्ट्र नाइजेरियालाई पराजित गर्न नसकेको खण्डमा पहिलो पल्ट समूह चरणको एक खेल पनि नजिती प्रतियोगिताबाट बाहिरिनेछ ।  अर्जेन्टिनालाई पहिलो खेलमा आइसल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो। दोस्रो खेल क्रोएसियासँग ३–० ले गुमाएपछि अर्जे्न्टिना दबाबमा परेको हो । यद्यपी नाइजेरियाले विश्वकपमा अहिलेसम्म अर्जेन्टिनालाई हराएको छैन । तर, उसले दोस्रो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गर्दा देखाएको खेलले सवैको मन जितेको छ ।

अर्जेन्टिना र नाइजेरियाबीच चार पल्ट विश्वकपमा भिडन्त भइसकेको छ र सवै खेलमा नाइजेरिया पराजित भएको छ। तर, यी सवै खेलमा एक गोलको झिनो अन्तरले मात्र ‘द इगल्स’ पराजित भएको थियो। नाइजेरिया सन् १९९४ मा पहिलो पल्ट २–१, २००२ मा १–०, २०१० मा पनि १–० र २०१४ मा ३–२ ले पराजित भएको थियो ।

नाइजेरियाले दक्षिण अमेरिकी प्रतिद्वन्दीसँग अहिलेसम्म कुनै खेल जितेको छैन । अर्जेन्टिना बाहेक पनि १९९८ मा उ पाराग्वेविरूद्ध भिडेको थियो । त्यस खेलमा पनि पाराग्वे विजयी भएको थियो । आजको खेलमा नाइजेरिया पराजित भए अर्जेन्टिना नकआउट चरण प्रवेश गर्नेछ भने अर्जे्न्टिनालाई पराजित गर्न सके नाइजेरिया अन्तिम १६ मा जानेछ । यसपटकको विश्वकपमा नाइजेरियलाई ’अण्डर डग’ राष्ट्रको रूपमा हेरिएको छ ।

आज राती ११ बजेर ४५ मिनेटमा शुरु हुने खेल उनको जीन्दगीको लागि असाध्यै महत्वपूर्ण र कठिन हो । यो खेलमा पराजित भए उनको लागि दुईवटा विकल्प हुनेछ, एक अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने, अर्को अन्तराष्ट्रिय खेलमा थप राम्रो गर्ने प्रतिबद्धता सहित घर फर्किनु । तर, मेस्सीले आफ्नो ३१ औं जन्मदिन मनाउदै आफू विश्वकपको उपाधि उचालेको कल्पना गरेरै यो स्थानमा आइपुगेको भन्दै अर्जेन्टिनाका लागि महत्वपूर्ण उपाधी नउचाली सन्यास नलिने बताएका छन् । उनले भनेका छन्, मैले प्राय सबै प्रमुख उपाधी जितिसकेको छु र विश्वकप जित्न चाहान्छु। मलाई विश्वकप उपाधि नजिती सन्यास लिने चाहना छैन ।’

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७