चर्चा चिनियाँ रेलको, काम पूर्व–पश्चिम रेलकाे


१४ असार २०७५, बिहीबार
China nepal train.JPG

काठमाडौं, १४ असार  । रसुवागढी हुँदै काठमाडौं आउने रेलमार्गको लम्बाइ ७५ किलोमिटर मात्रै हो जसको लगानी तीन खर्ब नाघ्ने प्रारम्भिक अनुमान छ । तर, समृद्धिको मेरुदण्ड त्यही रेलमार्गलाई मानिएको छ । अाजकाे नयाँ पत्रिका देनिकमा खबर छ । China nepal train.JPG

उत्तरी रेलको लगानी प्रतिकिमि करिब चार अर्ब हुने चिनियाँ टोलीकै प्रारम्भिक अनुमान छ । पूर्व–पश्चिम रेलको लगानी भने प्रतिकिमि ५० करोड छ । हजार किलोमिटर कुद्ने रेलको डिपिआर र निर्माणसमेत भइरहेको छ ।

१६० किमि प्रतिघन्टाका दरले कुद्ने पूर्व–पश्चिम रेल चढेर बुटवलको मान्छेले नेपालगन्जमा र विराटनगरको मान्छेले वीरगन्जमा जागिर खान सक्छन् । सात घन्टामा पूर्व–पश्चिम गर्न सकिन्छ । तर, यो परियोजना ओझेलमा छ ।

काँकडभिट्टादेखि बुटवलसम्म डिपिआर सम्पन्न

करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर पनि तयार भइसकेको छ । ‘बुटवल–बर्दिबासको डिपिआर यसअघि नै तयार भइसकेको थियो । बर्दिबासदेखि काँकडभिट्टासम्मको डिपिआर पनि गत नोभेम्बरमा सम्पन्न भयो,’ रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिए ।

बर्दिबास–सिमरा रेलमार्ग अढाइ वर्षभित्र सञ्चालनमा

बर्दिबासदेखि लालबन्दीसम्मको त निर्माण नै सुरु भइसकेको छ । अझ बर्दिबासदेखि सिमरासम्मै १०८ किलोमिटर रेलमार्ग आगामी अढाइ वर्षभित्र सम्पन्न हुने रेल विभागको भनाइ छ ।

‘बर्दिबासदेखि लालबन्दीसम्मको ३० किलोमिटरमा सिभिल इन्जिनियरिङको काम सम्पन्न भएको छ,’ प्रवक्ता उपाध्यायले भने । यसको मतलब रेल्वे ट्र्याक बेड बनाउने कार्य सम्पन्न भएको छ । त्यहाँ अब लिक बिछ्याउने काम हुनेछ ।

यस कामका लागि हालसम्म ३ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको जानकारी पनि विभागले दिएको छ । लालबन्दीदेखि सिमरासम्मको खण्डको सिभिल इन्जिनियरिङको कामका लागि यही आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेछ ।

त्यसका लागि १७ अर्बसम्मको ठेक्का लगाउन पाउने सहमति अर्थ मन्त्रालयले दिइसकेको जानकारी उनले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७