म्यादी प्रहरीको पोशाकमा करोडौं घोटाला !


१४ कार्तिक २०७४, मंगलवार
Nepal police

काठमाडौं :  नेपाल प्रहरीभित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको एक समूहले एक देखावटी ठेकेदार खडा गरी आगामी २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १५ करोड रुपैयाँ घोटाला गर्नका लागि सबै सेटिङ मिलाइसकेको छ । डीआइजी गणेश केसी, ३ नम्बर प्रदेशका एआइजी केशरीराज घिमिरे, ४ नम्बर प्रदेशका कमलसिंह बम र ६ का रणबहादुर चन्दको योजनामा देखावटी ठेकेदार मनोजकुमार भारतीलाई अगाडि सारेर म्यादी प्रहरीको पोशाकमा १५ करोड रुपैयाँ घोटाला गर्ने तानाबाना बुनेको खबर छ ।

Nepal police

 यो समूहले १ नम्बर प्रदेशका एआइजी पशुपति उपाध्याय, २ नम्बरका विजयलाल कायस्थ, ५ नम्बरका मिङ्मार लामा र ७ का बिजय भट्टलाई पनि सहमत गराएर म्यादी प्रहरीको पोशाकको ठेक्का मनोजकुमार भारतीलाई दिने तय भइसकेको छ । ठेक्काको निर्णय नै नभई म्यादी प्रहरीको कपडा सिलाईको काम दु्रतगतिमा भइरहेको प्रहरी स्रोतले बताएको छ ।

९८ हजार म्यादी प्रहरीका लागि पोशाक खरिदको लागि ठेक्काको निर्णय नहुँदै नयाँबजार र भक्तपुरको सृजनानगरको गार्मेन्टमा हजारौं सेट कपडा सिलाई बुनाई भइरहेको छ । सरकारले एक म्यादी प्रहरीका लागि पोशाकदेखि जुत्तासम्मका लागि ४ हजार रुपैया छुट्ट्याएको छ । ठेकेदार स्रोत भन्छ, ९८ हजार प्रहरी भर्ना गर्ने भइसकेपछि समयमै नेपाल प्रहरीले टेण्डर गर्दा एक जनाबराबर  बढीमा २१ सय ५० रुपैयाँमा तयार गरी दिन सक्छन् । प्रहरीमा लत्तापकडा आपूर्ति गर्ने एक सप्लायर्सका अनुसार धेरै परिमाण भएकाले २१५० भन्दा कममा पनि टेण्डर पर्नसक्थ्यो । तर  प्रहरीले समयमै टेण्डर नगरी नभ्याएको भन्दै अमानतमा पोशाक आपूर्तिको ठेक्का दिन लागेको छ । त्यो ठेक्का पनि प्रहरीले यसलाई दिने भनेर निर्णय नै भएको छैन । तर एक महिनाअघिदेखि नै ठेकेदार मनोजकुमार भारतीले म्यादी प्रहरीका लागि पोशाक सिलाई गरिरहेका छन् । नयाँ बजार र भक्तपुरको राधेराधे अगाडि सिर्जनानगरमा पहिले तातोपानीको ब्यापार गर्ने झापा घर भएका इन्द्र श्रेष्ठको गार्मेन्टमा एक महिनाअघिदेखि ३५ हजार जोर सेट सिलाई भइरहेको छ ।

म्यादी प्रहरीको पोशाकका लागि आवश्यक कपडा आपूर्ति गर्ने बिराटनगरका जितन अग्रवाललाई समेत प्रहरीका हाकिमहरूले अरु ठेकेदारलाई कपडा छैन भन्न सिकाएका छन् । प्रहरीसँग सेटिङ भइसकेकाले जितन अग्रवालले अरु ठेकेदारलाई कपडा छैन भन्ने गरेका छन् । प्रहरीका उच्च अधिकारीको लगानी रहेको मनोजकुमार भारतीको फिटवेल गार्मेन्टलाई मात्र उनले कपडा दिनेगरी सेटिङ गरेकाले अरु ठेकेदारलाई छैन भन्दैआएको एक आपूर्तिकर्ताले बताएका छन् ।

म्यादी प्रहरीको पोशाकको ठेक्काका लागि एक मन्त्रीलाई भनसुन गरी प्रदेश प्रहरीका प्रमुखकोमा पुगेका एक ठेकेदारलाई आइजीपी सा‘बले माथिबाटै मनोजकुमार भारतीलाई दिनु भनेकाले आफूले केही गर्न नसक्ने जवाफ पठाएका छन् । जबकि प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरीलाई म्यादी प्रहरीको पोशाक खरिद गर्ने अधिकार प्रत्यायोजन गरेको भन्दैआएको छ । कुनै पनि प्रदेश प्रहरीले अहिलेसम्म यो ठेकेदारलाई  पोशाक सप्लाई गर्न दिने भनेर निर्णय गरेका छैनन् । तर म्यादी प्रहरीका लागि फिटवेल गार्मेन्टका मनोजकुमार भारतीले धमाधम पोशाक सिलाइरहेका छन् । भारतीलाई प्रहरी नेतृत्वले ९८ हजार म्यादी प्रहरीकै पोशाक ठेक्का पाउने भएकाले ढुक्क भएर काम गर्न निर्देशन दिएकाले उनी दिनरात कपडा ल्याएर सिलाई गरिरहेका छन् ।

३ नम्बर प्रदेशका प्रमुख घिमिरे र डीआइजी गणेश केसीसँग अघिल्लो पटकदेखि नै गहिरो सम्बन्ध भएका फिटवेल गार्मेन्टको ६ नम्बर प्रदेशका रणबहादुर चन्दसँग भरतपुर तालिम केन्द्रको कमाण्डेन्ट हुँदा चिनजान भएको थियो । ४ नम्बरका कमलसिंह बमसँग बुटवल तालिम केन्द्र र नेपालगंज तालिम केन्द्रमै हुँदा सम्बन्ध रहेको थियो । १ नम्बरका उपाध्याय र २ नम्बरका कायस्थसँग पनि लाइन मिलाउन मिश्र र भारती दौडधूपमा रहेको स्रोतले बताएको छ । ५ नम्बरका मिङ्मार लामासँग मिश्र र भारतीसँग लिंक जोड्ने काम लेखाअधिकृत फणिन्द्र रानाभाटले गरेका छन् ।

को हुन् मनोजकुमार भारती ?
बर्षौदेखि सुरक्षा निकायको ठेक्कामा हात हालेका ठेकेदारहरूलाई चक्मा दिंदै कसरी ठेक्का लिए त भारतीले ? यो प्रश्न प्रहरीभित्र कौतुहलताको बिषय बनेको छ । महाबौद्धमा बच्चाहरूको सामान्य चाइनीज सामानको पसल भएका मनोजकुमार भारतीले गएको स्थानीय तहको चुनावमा म्यादी प्रहरीको पोशाक आपूर्ति गर्ने ठेक्का लिए । गुल्म र गणमा केही जोर ट्रयाकसुट बिक्री गर्ने भारती देखावटी पात्र मात्र भएको स्रोतले बतायो । स्रोतका अनुसार भारती देखावटी पात्र हुन्, यसका पछाडि ठेकेदार राजमान मिश्र मुख्य र प्रकाश टिवडेवाल छन् । पर्दापछाडि प्रंहरीका डीआइजी, एआइजीका अलावा मिश्र र टिवडेवालले लगानी गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा पनि भारतीको फिटवेलले तत्कालीन मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र पश्चिमान्चलको पोखरा र सुदूरपश्चिमान्चलका म्यादी प्रहरीको ३५ हजार सेट कपडाको ठेक्का पाएको थियो । टेकुमार किचेनका सामानको ठूलै कारोबार गर्ने प्रकाश टिवडेवालको प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँग घनिष्टता रहेको  छ । मिश्र र टिवडेवाला ३ बर्षदेखि ब्यापारिक साझेदार हुन् । टिवडेवालले नै प्रका अर्यालसम्म मिलाएर स्थानीय तहदेखि अहिलेको ९८ हजार म्यादीका लागि पनि ठेक्का मिलाएका हुन् । मनोजकुमार भारतीको नाममा ठेक्का लिए पनि उनी ५ प्रतिशतका हकदार मात्र रहेको प्रहरी स्रोत बताउँछ ।

पाँचवटै प्रदेशका प्रहरी प्रमुखसँग पहिले नै सेट गरेकाले १ नम्बरका प्रमुख पशुपति उपाध्याय र २ नम्बरका विजयलाल कायस्थलाई पनि सहमत गराएर सबै पोशाकको ठेक्का दिने योजनामा गणेश केसी र केशरी घिमिरेहरू लागेका छन् । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले आआप्mनो हिसाबले दरबन्दी अनुसार पोशाकको प्रबन्ध गर्नका लागि परिपत्र गरिसकेको छ । हेडक्वाटरको परिपत्र यस्तो भए पनि प्रदेशका एआइजीहरूले घुस खान प्रतिस्पर्धा नगरी दिने तयारी गरेका छन् । प्रदेशका प्रहरी प्रमुखहरूले माथिबाट मनोज भारतीलाई दिनु भनेको छ भन्दै आइजीपी प्रकाश अर्यालको नाम लिने गरेको एक ठेकेदारले बताएका छन् ।

कतिमा तयार हुन्छ म्यादीको कपडा ?
म्यादी प्रहरीको एक सेट कपडाका लागि ४ याड लाग्छ । प्रहरीको पोशाकको काम गर्दैआएका एक ठेकेदारले भने, ४ याडको बढीमा १ हजार रुपैयाँ पर्छ । सिलाई ज्याला ३ सय रुपैयाँ पर्न आउँछ । पेटीको अधिकतम मूल्य राख्दा पनि ३ सय हुन्छ । बढी परिमाणमा किन्दा त्यो पनि सस्तो पर्न आउँछ । क्यापको ७० रुपैयाँ, गोल्डस्टार जुत्ता राम्रो रु ४५०।– पर्छ भने रु. ३५।– मोजाको राख्दा जम्मा २१ सय ५० हुन आउँछ । जाडो मौसम सुरु भएकाले स्वेटरको रु. ३५०।– नै राख्दा पनि २५ सयमा तयार हुन्छ । यसमा धेरै परिमाण हुँदा प्रतिस्पर्धा गराउँदा यो भन्दा सस्तोमा आपूर्ति गर्न सकिन्छ ।

सरकारले म्यादी प्रहरीका लागि ४ हजार रुपैयाँ छुट्ट्याएको छ । ४ हजारमै ठेक्का लिनेले सोझै १५ सय एक सेट कपडामा मुनाफा छ । स्थानीय तहको निर्वाचनमा सरकारले पोशाकका लागि ७१ सय छुट्ट्याएको थियो । स्थानीय तहको निर्वाचन गमी मौसममा भएकाले स्वेटर समेत दिनु पर्दैनथ्यो । स्थानीय निर्वाचनमा म्यादी प्रहरीका लागि पोशाक खरिदमा प्रहरीका हाकिम र ठेकेदार मिलेर ३० करोड रुपैयाँ घोटाला भएको देखिन्छ । कहीँकहीँ ७१ सय रुपैयाँमा केही रकम म्यादी प्रहरीलाई फर्काएको भए पनि अधिकांश ठउँमा घोटाला भएको प्रहरी स्रोतले बताएको छ ।

स्थानीय निर्वाचनमा म्यादीको पोशाकमा घोटाला गरेको रकम आइजीपीदेखि डीआइजी, लेखाअधिकृत, ठेकेदार मिलेर खाएका थिए । अब हुने निर्वाचनको रकम आइजीपी, प्रदेशका एआइजी, लेखा अधिकृत र डीआइजीबीच भागबण्डा हुनेछ । प्रदेशमा एआइजी नै प्रमुख भएकाले लेखाअधिकृतलाई मिलाएर कमिसन भागबण्डा गर्ने र डीआइजीले केही हिस्सा मात्र पाउनेछन् ।   (२०७४ कात्तिक १३ को साँघु साप्ताहिकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७