हङकङ प्रहरीले हत्या गरेका दिलबहादुरकी श्रीमती र छोरीले पाए आइडी कार्ड


१५ असार २०७५, शुक्रबार
id

हङकङ, १५ असार । हङकङ प्रहरीले गोली हानी हत्या गरेका दिलबहादुर लिम्बूकी श्रीमती सोनी राई र छोरी तान्छोमा लिम्बूले हङकङको स्थायी परिचयपत्र (परमानेन्ट आइडी) पाएका छन् । आईडीसँगै उनीहरुलाई फ्लाट र करीब चार लाख हङकङ डलर पनि उपलब्ध गराइएको छ ।id

२०६५ साल चैत्र ४ का दिन दिलबहादुर लिम्बूलाई हङकङका प्रहरी जवान हुइ का–किले गोली हानी हत्या गरेका थिए । हो मान्तिनस्थित सार्वजनिक पार्कमा बस्ने गरेका लिम्बूले हल्ला गरेको स्थानीयले सिकायत गरेपछि हुइ त्यहाँ पुगेका थिए । आईडी चेक गर्ने क्रममा उनीहरुबीच भएको विवादमा हुइले गोली चलाएका थिए ।

घटनापछि हङकङ नेपाली महासंघको नेतृत्वमा सम्पन्न विरोध प्रदर्शनमा हजारौं सहभागी बनेका थिए । प्रदर्शन हङकङ सरकारको मुख्यालयमा पुगेर सभामा परिणत भएको थियो । उक्त घटना विश्वभर समाचारको विषय बनेको थियो । सोही क्रममा नेपालमा रहेकी उनकी श्रीमती र छोरी हङकङ आएका हुन् ।

उक्त घटनालाई लिएर बनाएको छानबिन समिति (कोरोनर्स कोर्ट) ले ‘न्यायिक हत्या’ भन्ने प्रतिवेदन दिएपछि हत्यासम्बन्धी मुद्दा लगाइएको थियो । २०६७ साल माघ ७ का दिन अदालतले समितिको प्रतिवेदन सदर गर्दै मुद्दा खारेज गरेपछि सोनी राईको तर्फबाट क्षतिपूर्तिसम्बन्धी दाबी गर्ने बताइएको थियो । पुनरावेदनको लागि आर्थिक समस्या परेपछि कानुनी लडाइँ सकिएको थियो । मुद्दाकै क्रममा सरकारले केही रकम दिएर नेपाल फर्काउन चाहेको महासंघका तत्कालीन अध्यक्ष हेम लिम्बू बताउँछन् ।

नेपाल फर्कनुभन्दा आईडी प्राप्त गर्न सके आमा–छोरीको जीविकोपार्जन सहज हुने भएकाले उपायको खोजी गरिएको थियो । आश्रित भिसाको लागि स्पोन्सरको रुपमा रहेका दिलबहादुर लिम्बूको मृत्यु भइसकेकाले कानुनी व्यवधान रहेको थियो । यस स्थितिमा उनीहरुको बसाइ ७ वर्ष लम्ब्याउनुको विकल्प थिएन ।

यसका लागि छोरीलाई स्टुडेन्ट र आमालाई संरक्षकको रुपमा भिसा प्राप्त भएको थियो । हङकङको अध्यागमन ऐन (इमिग्रेसन अर्डिनेन्स) अनुसार वैधानिक कागजातसहित ७ वर्ष लगातार बस्ने व्यक्तिलाई स्थायी परिचयपत्र प्राप्त हुने सोलिसिटर एकनारायण शर्मा बताउँछन् । सोही अनुसार आमा–छोरीले स्थायी परिचयपत्र प्राप्त गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७