पेलेसँग एमबाप्पेकाे तुलना


१७ असार २०७५, आईतवार

एएफपी
कजान, असार १६  । टिनएज स्टार केलिएन एमबाप्पेले दुई गोल गर्नुका साथै अर्को गोलको पनि अवसर बनाउँदा फ्रान्सले अन्ततः विश्वकपमा आफ्नो आक्रामक फुटबलको लय भेटाएको छ । यही कारण फ्रान्सले शनिबार लियोनेल मेसीको अर्जेन्टिनालाई ४–३ ले पराजित गरी क्‌वार्टरफाइनल पुगेको छ ।

अर्जेन्टिनाका आशा सबै मेसी केन्द्रित भइरहँदा कजानमा पेरिस सेन्ट जेर्मेन (पीएसजी) का १९ वर्षे एमबाप्पेले सबै चर्चा आफूतिर ताने । सन् १९५८ मा पेलेले २ गोल गरेयता विश्वकपको एकै खेलमा २ गोल गर्ने एमबाप्पे कम उमेरका खेलाडी हुन् ।

दबाबमा रहेका अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाउलीले आक्रामक टोली उतार्ने बताएको थिए । अर्जेन्टिनी प्रशिक्षकले भनेको त्यो फुटबल फ्रान्सेली स्ट्राइकरले देखएका थिए । मार्कोस रोहोले एमबाप्पेलााई लडाएपश्चात् फ्रान्सले १३ औं मिनेटमै पेनाल्टी पाएको थियो । त्यसमा एन्टोइन ग्रिजमनले आरामदायी गोल गरेका थिए । तर, पीएसजीमा एमबाप्पेसँगै खेल्ने एन्जल डी मारियाले लामो दूरीबाट सानदार गोल गरी अर्जेन्टिनालाई ४१ औं मिनेटमा बराबरीमा ल्याए ।

मध्यान्तरलगत्तै अर्जेन्टिनाले पुनः अग्रता लियो । मेसीको कर्लिङ प्रहार ग्याब्रिइल मेर्काडोको खुट्टामा डिफ्लेक्टेड हुँदा फ्रान्सका गोलरक्षक हुगो लोरिस अर्कोतर्फ पुग्न पुगे । फ्रान्सले ५७ औं मिनेटमा रक्षक बेन्जामिन पाभार्डको सनसनीपूर्ण हाफ भलीबाट खेल २–२ को बराबरमिा ल्यायो । एमबाप्पेले ६४ र ६८ औं मिनेटमा जितेर फ्रान्सको जित निश्चित जस्तै गरे । मेसीकै पासमा वैकल्पिक सर्जियो अगुइरोले हेडमा गोल गरी अर्जेन्टिनालाई झिनो आशा देखाएका थिए ।

खेलमा अग्रता लिएर पनि फ्रान्स पछिल्लो पटक १९८२ को विश्वकपमा पोल्यान्डसँग पराजित भएको थियो । पराजयले मेसीको अन्तर्राष्ट्रिय खेल जीवन विश्वकप उपाधि बिनै सकिने लगभग निश्चित भएको छ । गतवर्ष अर्जेन्टिनालाई फाइनल पुर्‍याएका मेसी ३१ वर्षका भइसकेका छन् । अर्को विश्वकप आइपुग्दा उनी ३५ वर्ष भइसक्ने छन् । अर्जेन्टिनाले १९८६ यता विश्वकप जित्न सकेको छैन ।

अर्जेन्टिनाले पहिलो हाफमा फ्रान्सका रक्षक सामुइल उम्टिटीका हातमा बल लागेको भन्दै गरेको पेनाल्टी अपिललाई रेफ्रीले अस्वीकार गरेका थिए । त्यसपछि मेसीलाई पेनाल्टी बक्समा लडाइएका थिए । गोलसँग फ्रान्सले खेलमा पकड बनाए पनि दोस्रो हाफमा अर्जेन्टिनाले निकै राम्रो प्रदर्शन देखाएको थियो ।

डी मारियाले २५ यार्डबाट गोल गरेका थिए । समूह चरणमा अर्जेन्टिनाले कमजोर प्रदर्शन गर्दा उनी पनि आलोचना बनेका थिए । फ्रान्सले दोस्रो गोलसँगै रफ्तार समातेको थियो । ग्रिजमन, एमबाप्पे र ओलिभर जिरुडसँगै कान्टे र पाउल पोग्बा काउन्टर एट्याकमा अगाडि बढ्दा अर्जेन्टिनाको रक्षापंक्ति नाजवाफ जस्तो देखिन्थ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७