गुण्डानाइकेसँग एसपीको कनेक्सन


१९ असार २०७५, मंगलवार
om bahadur rana sp kaski copy

कास्की, १९ असार । विवादास्पद एसपी ओमबहादुर राना कास्कीको प्रहरी प्रमुखमा सरुवा भएपछि गुण्डानाइकेहरु सल्बलाउन थालेका छन् । एसपी रानाको गुण्डानाइकेसँगको हिमचिम बढ्दै जान थालेको छ । आर्थिक अनियमिततामा मुछिएका रानालाई आइजीपी सर्वेन्द्र खनालले कास्कीमा सरुवा गर्न चाहेका थिएनन् । तर उनले सरुवा नगर्ने अडान पनि लिन सकेनन् । गृहमन्त्रीका आसेपासेका कारण उनी निरीह भएर राना जस्ता बदनाम एसपीलाई कास्कीमा सरुवा गर्न बाध्य भएका थिए ।

om bahadur rana sp kaski copy
एसपी ओमबहादुर राना, ललित गुरुङ र धनबहादुर छन्त्याल‘लक्ष्मण’

पछिल्लो समयमा एसपी रानाको उठबस गुण्डानाइके एलजी ग्रुपका ललित गुरुङसँग बाक्लो हुन थालेको समाचार छ । कास्कीमा प्रहरी प्रमुख भएका रमेश खरेल, पुस्कर कार्की, केदार रिजाल, वसन्त लामा र अशोक सिंहले मुद्दा चलाएका एलजी ग्रुपका ललित गुरुङसँग एसपी राना सिभिलमा गार्डसमेत नलिई हिंड्ने गरेका छन् । जिल्लाको प्रहरी प्रमुख विवादास्पद गुण्डानाइकेसँग गार्डसमेत नलिई हिंड्नु कति उचित हो भन्ने प्रश्न उठ्ने गरेको छ । एसपी राना गुरुङसँग हिंड्ने, रेष्टुरेन्टमा खानपिन गर्ने र प्रहरीमा परेका विभिन्न केसहरुमा गुरुङलाई डिल गर्न लगाएर आर्थिक फाइदा लिन तल्लीन रहेको आरोप छ ।
पोखरामा गुण्डानाइकेको संजाल
कांग्रेस नेतृ सुजाता कोइरालाको संरक्षणमा कास्कीमा जग्गा कारोबारीदेखि ब्यवसायीहरुसँग असुली गर्दैआएको एलजी ग्रुपका ललित गुरुङ र एसपी राना बारम्बार पोखराका विभिन्न रेष्टुरेन्टहरुमा खानपिनमा रमाउने गरेका छन् । एसपी राना सरुवा भएपछि २०७५ जेठ २८ मा कास्कीमा हाजिर हुन जाँदा पोखरा विमानस्थलमा गुण्डानाइके धनबहादुर छन्त्याल ‘लक्ष्मण’ ले खादा र मालाले स्वागत गरी स्कर्टिङ गरेपछि विवादमा तानिएका थिए । उनलाई पोखरामा छन्त्यालको समूहले १२ वटा गाडीसहित स्कर्टिङ गरेको कुरा सार्वजनिक भएको थियो । यसअघि ललित गुरुङ र छन्त्यालको गुण्डागर्दी गर्ने समूहलाई एसपी अशोक सिंहले छिन्नभिन्न पारिदिएका थिए । उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरी कारबाही गरिएको थियो ।

यसअघिका एसपी अशोक सिंहलाई १ बर्ष पनि नपुगी सरुवा गराउनका लागि ललित गुरुङ, छन्त्याल र महेन्द्र भोटे भनिने शिव गुरुङहरुले ठूलै रकम खर्चेको कुरा समेत पोखरामा चर्चाको बिषय बन्ने गरेको छ । पोखरा लेखनाथ क्षेत्रमा जग्गा कारोबार बढिरहेको छ । यसअघि एसपी अशोक सिंहका कारण ती कारोबारीहरुसँग असुली गर्न नसकेका छन्त्याल, गुरुङ र महेन्द्र भोटेले राना आएपछि तर्साएर असुली गर्ने क्रम बढाएका छन् । घरजग्गा ब्यवसायीसँग असुली गर्न पल्किएका गुण्डानाइकेहरुको समूहले गृहमन्त्री रामबहादुर थापाका आसेपासेहरुलाई प्रभावमा पारी रानालाई प्रहरी प्रमुखका रुपमा कास्कीमा लान सफल भएको थियो ।

मिटरब्याजीदेखि घरजग्गामा असुलीसम्म
हतियार, लुटपाट, अपहरण, फिरौती काण्डमा पटक–पटक मुछिदै आएका धनबहादुर छन्त्याल ‘लक्ष्मण’ पछिल्लो समय नेपाल तरुण दलमा आवद्ध छन् ।

छन्त्याल र लामाको समूहले पोखरामा मिटरब्याजमा लगानी गर्ने, असुली गर्ने, घरजग्गा तथा हाउजिङ ब्यवसायीसँग हतियार देखाएर असुल्नेदेखि फिरौती माग्नेसम्मको अवैध काम गर्दै आएको छ । उनकै समूहका मुख्य नाइके विक्रम लामा लागूऔषध र हातहतियार काण्डमा जेलको जिवन विताइरहेका छन् ।
२०७१ फागुन २३ मा ’महेन्द्र भोटे’ को ओजन डिस्कोमा झगडा मिलाउन गएका प्रहरी जवान भीमबहादुर रानाको टाउको फुटाएको काण्डमा उनी पक्राउ परेका थिए । तर एसपी राना आएको ७२ घण्टा हुन नपाइ उनले गुण्डाका नाइके छन्त्यालसँग उठवस गर्न थालेपछि फेरि पर्यटकीय नगरी पोखरामा अपराध मौलाउने संभावना बढेको छ ।
एसपी रानाले सेटिङ मिलेपछि पोखराको लेकसाइडस्थित ओजन डिस्को रातभर खोल्न छुट दिएका छन् । उक्त डिस्को महेन्द्र भोटेको नामले चिनिने शिव गुरुङले संचालन गर्दैआएका छन् । स्थानीय प्रशासनसँग राति २ बजेसम्म मात्र संचालन गर्ने स्वीकृति लिए पनि एसपी राना कास्कीको प्रमुख भएपछि ओजन डिस्को बिहान ६ बजेसम्म संचालन हुने गरेको छ । एसपीलाई घुसको भागबण्डा मिलाएपछि रातभर डिस्को संचालन गर्दा पनि प्रहरीले केही चासो दिन छाडेको छ । भोटे एमालेनिकट युवासंघ गण्डकीका उपाध्यक्ष हुन् ।

विवादै विवादमा एसपी राना
रानालाई रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा अवधि पुग्नुअघि नै तानिएको थियो भने बौद्ध प्रहरी प्रमुख हुँदा पनि तिब्बतीहरूसँग घुस मागेका कारण उनी बद्नाम भएका थिए । उनको विषयमा त्यतिबेला गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको थियो । रक्तचन्दन तस्करी गरेको आरोपमा सेनाले अहिर्दमन गण रसुवाका तत्कालीन गणपति कर्णेल रामजी थापालाई कोर्टमार्सल गरी जागिरबाटै बर्खास्त गरेको थियो । तर, ओम रानालाई नेताहरूको दबाबमा कारबाही नै नगरी उन्मुक्ति दिइएको थियो । ओम रानाले रसुवामा प्रहरी प्रमुख हुँदा सुन तस्करी निर्बाध गराएका थिए । रसुवा हुनासाथ रानालाई सुन तस्करीको सञ्जाल सञ्चालन गर्ने कांग्रेस नेता मानबहादुर तामाङले कार नै उपहार दिएको उनीसँगै रसुवामा काम गरेको प्रहरी स्रोतको दावी छ । मानबहादुर तामाङ केही महिनाअघि रसुवा हुँदै आएको र क्षेत्रपाटीमा बरामद भएको ८८ केजी सुन प्रकरणमा पक्राउ परेका थिए, जुन सुन अपराध अनुसन्धान महाशाखाले बरामद गरेको थियो । राना महानगरीय आयुक्त कार्यालयमा काम गर्दा पनि जुवा अखडादेखि होटल गेस्टहाउसमा रकम असुलीमा विवादमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७