पहिरोले विद्यालय पुरिंदा पढाइमा समस्या


१९ असार २०७५, मंगलवार
36387730 1727927450655175 1217666860988760064 n

रोल्पा, १९ असार । सोमबार परेको अविरल वर्षाका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको पहिरोका कारण जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ भने जिल्लाका भित्री सडकमा चल्ने यातायातका साधन आवतजावतमा समेत कठिनाइ हुँदै आएको छ । 36387730 1727927450655175 1217666860988760064 n

रोल्पा नगरपालिका–१० धवाङ सुनवाङमा रहेको एक विद्यालयको भवन पहिरोले पुरिँदा पठनपाठन प्रभावित भएको छ । गुरुदय आधारभूत विद्यालयका दुई वटा भवनमा पहिरोले असर पुर्‍याउँदा पठनपाठन प्रभावित भएको हो । दुर्इ वटा भवनको सबै भागमा असर परेकाले सोमबार विद्यालय नै बन्द गरिएको बताइएको छ । विद्यालयका दुवै भवन क्षतिग्रस्त हुँदा पठनपाठनका लागि अन्य विकल्प समेत नभएकाले विद्यालय बन्द गर्न बाध्य भएको विद्यालयले जनाएको छ ।

तुरुन्त उक्त भवन मर्मत नगरे वा मौसममा सुधार नआए विद्यालय अनिश्चितकालका लागि बन्द हुनसक्ने बताइएको छ । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालय भवनमा सोमबार बिहान पौने ११ बजे पहिरो खस्दा क्षति पुगेको स्थानीय शेरबहादुर थापाले जानकारी दिए । अविरल वर्षाकै कारण रोल्पा नगरपालिका–४ धाँसीखोला नजिक निर्माणाधीन सडकमा लगाइएको जालीसहित पहिरो खस्दा एक घरमा क्षति पुगेको छ । पहिरोका कारण रोल्पा नगरपालिका–४ का यज्ञविक्रम मल्लको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । ‘पहिरोमा परी एक बाख्रा च्यापिएर मरेको भेटियो भने अन्य दुई बाख्रासमेत च्यापिएको हुनसक्ने स्थानीयले बताएका छन्’, प्रहरी नायब उपरीक्षक फुयाँलले भने ।

साथै, अविरल वर्षाकै कारण दक्षिण रोल्पाको रुन्टीगढी–५ सैवाङमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको छ भने अन्य स्थानमा भौतिक तथा आर्थिक क्षति भएको छ । रुन्टीगढी गाउँपालिका–५, सैबाङका राजकुमार विकको घर पहिरोले पुरिँदा घरभित्र आगो ताप्दै गरेकी २२ वर्षीया सुत्केरी कमला विकको मृत्यु भएको हो । सुत्केरी कमलासँगै १८ दिनको शिशु आयुषाल र छिमेकी १५ वर्षीया किशोरी चित्रा विकको समेत पहिरोका कारण मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

शिशु आयुषाल र चित्राको घटनास्थलमै मृत्यु भएको तथा सुत्केरी कमलाको प्राथमिक स्वास्थ्य केन्द्र होलेरी लैजाँदै गर्दा मृत्यु भएको पन्थीले जानकारी दिनुभयो । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा मृत्यु भएको हो । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । ‘एक्कासि घर भत्किएपछि दुर्घटना हुन पुगेको हो’, प्रहरी निरीक्षक पन्थीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७