ड्राइभिङ्ग गर्नु हुन्छ ? यी सात कुरामा ध्यान दिनुस्

काठमाडौं, १९ असार । अहिले ड्राइभिङ्ग धेरैले जानेका छन् । ठूला गाडी नभए पनि धेरैले बाइक चलाउने गर्छन् । सवारी चलाउनका लागि जान्नु पर्ने सात कुरा नजान्दा कहिलेकाहीं अप्रिय घटना समेत घटेका छन् । यसैले म सवारी चलाउन जान्दछु मात्र भनेर हुँदैन । यी सात कुरा मैले जानेको छु भन्ने कुरामा तपाई कतिको ढुक्क हुनुहुन्छ ? यी सात कुरामा तपाई ढुक्क र जानकार हुनुहुन्छ भने मात्र तपाई कुशल चालक हुनुहुन्छ ।
दुर्घटना हुनुको कारणबारे अमेरिकाको न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ मोटर भेइकल्सले वृहत अनुसन्धान गरी सर्वसाधारणमा सूचना जारी गरेको छ । उक्त स्टडी रिपोर्टका अनुसार दुर्घटना हुनाको ७ कारण यस्ता छन् :-
१) राम्रोसँग सुत्न नपाएको वा थकित चालकले चलाएको सवारीसाधन दुर्घटनामा पर्ने खतरा सबैभन्दा धेरै हुन्छ ।
२) बिना बिश्राम लामो यात्रा गर्दा दुर्घटनाको जोखिम बढ्छ ।
३) बिशेष गरी चालक सुत्ने समयमा गाडी चलाईरहेको छ भने उसलाई निन्द्राले ड्राइभ गर्न कठिन बनाउँछ । यदि यस्तो समयमा जवरजस्ती गाडी चलाउँदा दुर्घटनाको सम्भावना धेरै हुन्छ ।
४) दुर्घटना हुनसक्ने अर्को मुख्य कारण मादक पदार्थ सेवन वा अन्य निन्द्रा लाग्ने कुनै औषधि प्रयोग गर्नु हो । त्यसैले सवारीसाधन चलाउँदा यस्ता कुरामा ध्यान दिनु पर्छ ।
५) लामो बाटोमा गाडी चलाउँदा एक्लै यात्रा गर्नु पनि दुर्घटनाको कारण बन्न सक्छ ।
६) ट्राफिक कम भएको सडक पनि दुर्घटनाको कारण बन्न सक्छ । कम सवारीसाधन सडकमा हुँदा स्पिड धेरै हुने र दुर्घटनामा पर्ने खतरा बढ्छ ।
७) सधै एउटै बाटोमा सवारीसाधन चलाउँदा चालकमा ओभर कन्फिडेन्ट बढ्न जान्छ । त्यसले समेत दुर्घटना निम्त्याउन सक्छ ।
यस्ता छन् युवा चालकको समस्या
रिपोर्टका अनुसार युवामा विशेष गरी निन्द्रासँग जोडिएका समस्याहरु धेरै हुने गर्छन् । आजकालका युवाहरु बेलुका ढिलोसम्म बस्ने र बिहान चाँडो उठ्ने गर्छछन् । यस्तोमा उनीहरुले सवारीसाधन चलाउँदा निकै सजग हुन जरुरी हुन्छ ।
साथै सिफ्टमा काम गर्ने मानिसहरु जसको काम गर्ने निश्चित सेडियुल हुँदैन उनीहरु शारीरिक रुपमा धेरै थाकेका हुन्छन् । उनीहरु गाडी चलाउने क्रममा दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ । निन्द्रसँग जोडिएर आउने समस्या भएका हरेक मानिस गाडी चलाउन सतर्क हुन जरुरी हुन्छ ।