आफ्नैसँग हारेका ‘अभागी’ लियोनेल मेस्सी


१९ असार २०७५, मंगलवार
Messi 2

काठमाडौं, १९ असार :  शनिबार राती भएको फ्रान्स र अर्जेन्टिनाबीचको खेलको अन्त्य अर्जेन्टिना समर्थकहरुको लागि निकै पीडदायी थियो । अझ आफ्नो प्रिय खेलाडी अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका फ्यानहरुको लागि त्यो क्षण असाध्यै पीडापूर्ण थियो । खेलमा फ्रान्ससँग ४–३ ले पराजित भएर अर्जेन्टिना घर फर्किन्दै गर्दा धेरै दर्शकहरु निराश बने । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तुलनात्मक रुपमा विश्वभर अर्जेन्टिनाका समर्थकहरुको संख्या बढी थियो । कारण हो, स्टार खेलाडी लियोनेल मेस्सी ।

Messi 2

अर्जेन्टिना फ्रान्ससँग पराजित भएपछि धेरै समर्थक निराश भए । लियोनेल मेस्सीको बर्हिगमनमा धेरैले आँशु बगाए । मेस्सीको बर्गिगमन लगत्तै उनका समर्थकहरु रोएका तस्बिर र भिडियोहरु सामाजिक सञ्जाल भरी छरपष्ट भयो ।  संसारभरीका सञ्चार माध्यमहरुले लियोनेल मेस्सीको बर्हिगमनसँग जोडेर समाचार लेखे । ठिक त्यही दिन अर्जेन्टिनाका मुख्य सञ्चार माध्यमहरुले मेस्सीको चर्को आलोचना सहित समाचार मात्रै छापिएन की फेरि अर्को पटक मेस्सीको देशप्रेममाथि प्रश्न उठाइयो । मानौकी मेस्सीकै कारण अर्जेन्टिना पराजित भएको हो ।  अर्जेन्टिनाका एक मुख्य पत्रिका  क्लारिन्क्स नामको पत्रिकाले कभर पेजमा मेस्सीले भूँइमा टाउको राखिरहेको फोटो राख्दै हेडलाइन लेखेको छ, ‘मेस्सी पुस्ताको अन्त्य ।’

विश्वकपबाट बाहिरिएर घर फर्किन्दा अर्जेन्टिनाले खेलाडीहरुको पुरै वेवास्ता गर्‍यो । मानौंकी खेलाडीहरुले जानजानी पराजित भए । सायद, यही बुझेर हुनुपर्छ, विश्वकपबाट बाहिरिएपछि आइतबार घर फर्किएको अर्जेन्टिर्नी टोलीसँग कप्तान मेस्सी भने फर्किएनन् । उनी बार्सिलोना गए । विमानस्थलमा निकै निराश मुद्रामा देखिएका मेस्सी पत्रकारहरुको प्रश्नलाई वेवास्ता गर्दे ‘रिसिभ’ गर्न आएकी गर्लफ्रेन्ड एन्टोनिला रोक्युजोले चलाएको गाडी चढेर निस्के ।

आफ्नैसँग हारेका मेस्सी
अर्जेन्टिनाका सञ्चार माध्यमहरुले यसपाली पनि हारको प्रमुख कारण मेस्सीलाई देखाए । तर, त्यो यथार्थ थिएन । मेस्सी एक्लैले केही गर्ने स्थीतिमा थिएनन् । मेस्सीलाई उनकै टिमका साथीहरुले समेत साथ दिएनन् । कहिलेकाही त यस्तो प्रश्न उठछ्, ‘अर्जेन्टिनी टोलीमा मेस्सीको नेतृत्वमा विश्वकप जित्नु हुन्न भन्ने अभिरुचीका खेलाडीहरु त कतै छनन् ?’ फ्रान्सविरुद्धको खेलमा ‘बक्स’ क्षेत्रमा उनले जम्मा चार पटक मात्रै बल छुन पाए । एक पटक मात्रै फ्रान्सविरुद्ध गोलपोष्टमा आक्रमण गर्ने अवसर पाए । मेस्सीलाई गोलका लागि एकपटक पनि पास दिइएन । जुन निकै बिडम्बनापूर्ण थियो । पास नदिइएपछि कम्तीमा तीन जनाको घेरमा परिरहने मेस्सी एक्लैले बल लिएर गोल गर्नु निकै कठिन बिषय थियो । कतैबाट पास नपाउदा मेस्सी निरिह जस्तै थिए, मैदानमा । १० जनाका कप्तान मेस्सी एक्लै जस्तो देखिए ।

Messi

फ्रान्सविरुद्धका खेलमा मात्रै होइन सबै खेलमा मेस्सीको नियति यही रह्यो । न उनले दिएको पासलाई अरुले गोलमा परिणत गर्ने सके न त उनलाई नै पास दिइयो । जर्मनीका विश्वकप विजेता यार्गेन क्लिन्समेन बिबिसीसँग भनेका छन्, ‘अर्जेन्टिनाले मेस्सीलाई वास्तवमा कहिल्यै चिन्नै सकेन । यसपटक पनि एकदमै उथलपुथल पूर्ण विश्वकप यात्रामा मेस्सीले अर्जेन्टिनाको अपेक्षालाई आफ्नो काँधमा लिएका थिए । पहिलो हाफमा उनी एक्लो देखिन्थे, दोस्रो हाफमा त उनले मुश्किलले बल छोए ।’ मेस्सीलाई टिमले नै साथ नदिएको उनको भनाई छ । एकजना स्पेनी फुटवल विज्ञले बिबिसिसँग भनेका छन्, ‘मेस्सी जस्ता सम्भवतः महान् खेलाडी घर गएको देख्नु दुःखद अवस्था हो । उनलाई थाहा थियो कि यस्तो टोली लिएर उनले विश्वकपमा केही गर्न सक्ने छैनन् ।

अर्जेन्टिना भावनाले जोडिएको थियो। तर, टोली पूर्ण रूपमा भद्रगोलको अवस्थामा थियो ।’ सन् २०१८ को एप्रिलमा अर्जेन्टिनाको पत्रिका क्लारिनले छापेको समाचार अनुसार मेस्सी दाहिने तिघ्रामा लागेको चोटका कारण पनि समस्यामा थिए । त्यही चोटका कारण छिटो गतिमा दौडिने र चाल परिवर्तन गर्ने उनको क्षमतामा असर गरेको थियो ।  बिबिसीका अनुसार मेस्सी निकै थकित पनि थिए । सन् २०१७/१८ को युरोपेली सिजनमा मेस्सी ५४ वटा खेलमा सहभागी भए। यो सन् २०१४र १५ यताको सबैभन्दा बढी खेल थियो । तथ्याङ्कसम्बन्धी वेब्साइट ट्रान्स्फर्मार्क्टका अनुसार मेस्सीले ४,४६८ मिनेट खेलेका छन् र औसतमा ८२.७ मिनेट मैदानमा बिताएका थिए । ‘मेस्सीलाई देशले कहिल्यै चिनेन’ बिषयमा स्वभाविक प्रश्न उठ्न सक्छ, ‘अर्जेन्टिनाले कप्तानको जिम्मेवारी यतिका समय त दिएकै हो, के गर्यो त मेस्सीले ?’ तर, अर्जेन्टिनाले कप्तानीको मात्रै भूमिका दियो तर टिम भएन । स्ट्राइकर हेर्नान क्रेस्पो अर्जेन्टिनाबाट मेस्सीलाई कुनै सहयोग नभएको बताउँछन् । भन्छन्,‘उनलाई न प्रशिक्षकहरूको सहयोग छ, न खेलाडी र संघका अध्यक्षहरुको नै ।’

भद्रगोल टोली लिएर रुस जार्दै गर्दा नै मेस्सीलाई थाहा थियो, यस्तो टिम लिएर धेरै गर्न सकिन्न । तर, उनी देशको भावनाले जार्दै थिए । तर, हरेक हारपछि मेस्सीलाई अर्जेन्टिनाकाहरुले देशप्रति माया नभएकोसम्म आरोप लगाउँदै आएका छन् । २०१४ मा विश्वकपको फाइनलमा पराजित भएपछि मेस्सी निकै भावुक भए । रोए । त्यही घटनालाई सम्झिदै मेस्सीले एक अन्तरवार्तामा भनेका छन्,‘ हाम्रा लागि त्यो एउटा खुला घाउ थियो जुन अहिलेसम्म पनि दुखिरहेको छ । त्यो विश्वकप उपाधि जो हाम्रो होस् भन्ने चाहान्थे उनीहरू सबै रोए । म रोएँ, सबै अर्जेन्टिनी रोए । त्यो पिडा अझैँ ताजै छ ।’ त्यही त्यही पीडाको बेलामा मेस्सी देशद्रोही भएको आरोप लगाइयो । पुत्ला जलाइयो । जुन दृश्यहरु मेस्सीलाई माया गर्नेहरुको लागि निकै पीडदायी थियो । अर्जेन्टिनाका सञ्चार माध्यमहरुले समेत मेस्सीको देशप्रेममा प्रश्न गरे । देशप्रतिको जिम्मेदारीमा शंका गरे । यो बिषयमा मेस्सीले भनेका छन्,‘कहिलेकाहीँ मिडियाले त्यस्तो गर्दा हामीले विश्वकपको फाइनलसम्म पुग्न लगाएको सामथ्र्य बेकार थियो झै लाग्छ। तर अर्जेन्टिना भनेकै त्यही हो, जहाँ उपविजेतालाई कुनै स्थान छैन ।’

Messi and Paper
अर्जेन्टिनाका एक मुख्य पत्रिका क्लारिन्क्स

मेसीलाई शताब्दीकै महान् खेलाडी पनि भनिन्छ । फुटबलका बादशाहा पेले, म्याराडोना पनि मेस्सीलाई अद्भुत खेलाडी मान्छन् । स्पेनका वैज्ञानिकहरूरु भन्छन् ‘फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा साँच्चै नै कम्पन हुन्छ ।’ अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान यो पत्ता लगाएको मिरोरको रिपोर्टमा उल्लेख छ । मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको वैज्ञानिकहरुको भनाई छ । अर्जेन्टिना रोसारियो शहरबाट १३ वर्षकै उमेरमा बार्सिलोना आएका मेसीको धेरै समय स्पनेमै बितिरहेको छ । आफ्नो क्लब बार्सिलोनालाई अनेकौ उपाधी दिलाए । उनका नाममा अनेकौ रेकर्ड र उपाधी छन् । तर, अर्जेन्टिनाका लागि महत्वपूर्ण उपाधी दिलाउन असफल भए । यही कारण पनि अर्जेन्टिनामा उनको आलोचना हुने गरेको छ । मेस्सीका आफ्नो नाममा विश्वकपको उपाधि चुम्ने अन्तिम अवसरको रुपमा यो विश्वकपलाई हेरिएको थियो । तर, त्यो हुन सकेन ।

विश्वकपमा मेस्सीको यो चौथो सहभागिता थियो । सन् २००६ र २०१० मा अर्जेन्टिना क्वार्टर फाइनलसम्म पुगेको थियो । सन् २०१४ मा जर्मनीसँग फाइनलमा पराजित हुँदा प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेर ‘गोल्डन बल’ जितेका थिए । कोपा अमेरिकामा पराजित भएपछि सन् २०१६ मा मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे । तर, अर्जेन्टिनाको राष्ट्रपतिदेखि विशिष्ट व्यक्ति तथा पूर्व फुटबलरहरुले सन्यास फिर्ता लिन आग्रह गरेपछि मेस्सी फर्किए । तर, यो विश्वकपमा एक्लो मेस्सीले केही गर्न सकेन त्यही कारण फेरि उनको देशप्रेममाथि प्रश्न सुरु भएको छ ।

Messi 4

अब के गर्लान् ?
मेस्सीले आफ्नो ३१ औं जन्मदिन विश्वकप खेल्दै गर्दा रसियामा नै मनाए । त्यही क्रममा उनले आफू विश्वकपको उपाधि जितेर मात्र सन्यास लिने बताएका थिए । तर, उमेर र राष्ट्रिय टिम दुबैको कारण मेस्सीलाई अब सहज छैन । सम्भवत उनको यो नै अन्तिम विश्वकप हुनसक्छ ।

फ्रान्ससँग पराजित भएपछि मेस्सी निराश मुद्रामा देखिए । कम्बरमा हात राखेर निकै बेर एक्लै उभिरहे । आँशु झारे । यसपछि पखुरामा बाँधेको कप्तानको पट्टी फुकालेर हातमा लिएर मैदान बाहिर निस्के । दयाँबायाँ नहेरी उनी सरासर बाहिर निस्किए । सायद, यो दृश्य उनका फ्यानहरुको लागि निकै पीडादायी थियो । यो दृश्य हेरेर संसारका धेरै मान्छेहरुले आँशु बगाइरहेका बेला उनकै देशकाहरुले भने मेस्सीलाई गाली गर्न सुरु गरीसकेका थिए । उसैगरी उनको देशप्रेममा आशंका गर्न थालेका थिए । त्यो भन्दा अरु ठुलो निर्मम प्रहार मेस्सीमाथि अरु के हुन सक्छ ?’ स्ट्राइकर हेर्नान क्रेस्पो अर्जेन्टिनाबाट मेस्सीलाई कुनै सहयोग नभएको बताउछन् । भन्छन्,‘हामी उनलाई खासै सहयोग गर्दैनौँ । मैले भन्न खोजेको न प्रशिक्षकहरूले, न संघहरूका अध्यक्ष आदिले । उनी संसारकै संसारकै अति महत्वपूर्ण खेलाडी हुन् र हामी उनलाई सघाउँदैनौँ । यो टीढलाग्दो कुरो हो । उनी राम्रो गर्न खोज्छन् । सम्भवतः त्यसैले उनी दबाबमा पर्छन् ।’

Messi with his wife
आफ्नो परिवारसँग मेसी

मेस्सीलाई सर्वकालीन महान् खेलाडी मान्न उनले विश्वकप जित्न आवश्यक नरहेको बताउँछन् । भन्छन्, ‘उनी इतिहासमै सर्वोत्कृष्टमध्येका एक हुन् । तपाईँलाई फुटबल मन पर्छ भने तपाईँ मेस्सीलाई हेर्न मन पराउनुहुन्छ ।’ अर्जेन्टिनामा जन्मिएका मेस्सी १३ वर्षकै उमेरमा बार्सिलोना गए । दुनियाँका मन जिते । २०१८ को विश्वकपमा नमिठो बिदाई भएपनि फुटबल फुटबल मन पराउनेहरुले मेस्सीलाई सधै मनपराई रहनेछन् । तर, यार्गेन क्लिन्समेनको भाषामा मेस्सी‘आफ्नैसँग हारेका ‘अभागी’ पनि हुन् ।

– एजेन्सीहरुको सहयोगमा

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७