कालिमाटी बजार हटाउने मन्त्री खनालको चेतावनी

काठमाडौं, १९ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले दुई महिनाभित्रमा सुधार नगरे कालिमाटी बजार नै हटाई दिने चेतावनी दिएका छन् ।
कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको र यो मौका सदुपयोग नगरे बजार नै उठाउने बताएका छन् । रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले भदौसम्म पनि कुनै सुधार नभए बाध्य भएर कालिमाटी बजार नै बन्द गर्नुपर्ने अवस्था आउने बताए ।
उनले कालिमाटी फलफूल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मूल्यभन्दा दशौं गुणा बढी लिएको भेटिएकाले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए ।
‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिएको भेटियो । दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो,’ मन्त्री खनालले भने, ‘यो हदैसम्मको लापर्बाही हो । समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु ।’