सरकार तस्करहरुको नाइके बने अर्को ३० हजार मान्छे मर्छन् : सुशीला कार्की

सरकारमाथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आरोपै आरोप


१९ असार २०७५, मंगलवार
Sushila karki

काठमाडौं, १९ असार :  पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तीको लाइनमा पुगेको आरोप लगाएकी छिन् । सरकारले शोषक, सामन्ती व्यापारी पृष्ठपोषक भएर काम गरीरहेको उनको जिकिर छ ।

Sushila karki

डा. गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश कार्कीले डा.केसीको असनबाट आएको अध्यादेश मेट्न खोज्नु गलत भएको बताइन् । उनले भनिन्, ‘१४ र १४ पटक बसेको अनसनबाट आज जुन अध्यादेश आएको थियो, आज त्यसलाई सरकारले मेट्न चाहन्छ भने सरकार त शोषक सामन्तीको लाइनमा पुगेछ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार व्यवहारमा खतम भएको बताइन् । उनले भनिन्,‘सरकारमा आएपछि तपाई ब्यापारीलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता शोषक सामन्ती व्यापारीलाई सहयोग गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुँदोरहेछ । मुखले सैद्धान्तिक कुरा गर्ने, व्यवहारमा खतम हुनुहुँदोरहेछ ।’

गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु सबैको अधिकार भएको बताइन् । ‘गरिबले खान पाउनुपर्छ, लाउन पाउनुपर्छ, उपचार पाउनुपर्छ भन्नु पनि विद्रोह हुन्छ र ? त्यसलाई विद्रोह मानिन्छ ? सुन्दा पनि अचम्म लाग्छ । डा. केसीले त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर पो भनेका छन् । मैले कहाँ पढे, बरु भारतमा लागू गर्दैछ । त्यहाँ खडा भयो, त्यहाँ वेपत्ता भयो ।’

‘यस्तै हो भने अझै ३० हजारले ज्यान गुमाउनेवाला छ’

सरकारले तस्करहरुको नाइके बने र तिनलाई नै पक्षपोषण गरे अर्को ३० हजार मर्ने बताइन् । उनले भनिन्,‘दुःख मान्ने कुरा छ, यो देशमा १५ हजार मान्छेले ज्यान गुमाएका छन् । त्यो त भयो भयो, आफ्नो ठाउँमा छ । अब अझ ३० हजारले ज्यान गुमाउनेवाला छ । यही गरिबी राख्नुहुन्छ, हुनेखानेलाई पोस्नु हुन्छ, यसरी नै हुनेखाने तस्करहरुको नाइके बन्नुहुन्छ र तिनलाई नै पक्षपोषण गर्नुहुन्छ भने अर्को ३० हजार मान्छे मर्छन् ।’ पूर्वप्रधानन्यायाधीश कार्कीले सत्तामा हुनेहरुलाई बन्दुकले जोगाएको बताइन् । उनले भनिन्, ‘सेनाले जोगाएको छ, प्रहरीले जोगाएको छ । तर, गरिब, शोषक समान्तीका नाममा एकछाक भात खान पाउने मारिएको हो भने आज खै त परिर्वतन ? जनताले के पाए ? केही भएन । काग कराउँदैछ, पिना सुक्दैछ भनेजस्तै भयो । मलाई लागेको थिएन यस्तो होला भन्ने ।’

‘आफ्ना छोरालाई युवराज, गंगामायालाई वेवस्ता’
पूर्वप्रधानन्यायाधीश कार्कीले आफ्ना छोरालाई युवराज अनसनमा बसेका गंगामायालाई वेवस्ता गरेको आरोप लगाइन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड तर्फ संकेत गर्दै भनिन्, ‘गंगामायाको सट्टा कोही नेताको छोरो मरेको भए ती रुँदैनथे ? आफ्ना छोरालाई युवराज बनाएर उभ्याउँछन् सडकमा ! तिनका नाममा कार्यक्रम गर्छन् ।’ सरकारले घाँटी ङ्याकेर गंगामायालाई मारीरहेको उनको आरोप छ । भनिन्, ‘गोरखा फुजेल–७ की एउटी मामुली महिला, जसको भर्खर एसएलसी पास गरेको छोरो खुसी मनाउन मावली गएको । बाटैमा मारियो । श्रीमान् मारियो । छोरो कता छ पत्तो छैन । आफू मृत्युको सँघारमा छिन् । सरकारले घाँटी ङ्याकेर मार्दैछ । हामी सबैले मार्दैछौँ । किनभने हामी बोल्दैनौँ । हो, हामी सबैले मार्दैछौँ ।’

गंगामाया पनि इतिहासमा नाम लेखिने महिला भएको उनको भनाई छ । भनिन्, ‘गंगामाया पनि इतिहासमा नाम लेखिने महिला हुन् । यी एतिहासिक महिला हुन् । न्यायको लागि यत्रो साहस कसैसँग हुँदैन । न्याय त्यो पनि अबला महिलाले लड्ने, त्यो सानो कुरा हो ? घर–सम्पत्ति, छोरो, श्रीमान्, केमात्रै सकिएन उनको ? आङमा लगाएको लुगा र शरीरबाहेक उनीसँग आफ्नो भन्नु केही छैन । के यसैगरी मर्न दिने ? कस्तो अन्याय हो यो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७