प्रहरी अस्पतालमा मन्दिर निर्माणको हिसाब गोलमाल


२० असार २०७५, बुधबार
0 Shares
dinesh chandra copy

काठमाडौं, २० असार । नेपाल प्रहरी अस्पतालको प्रवेशद्वारबाट बायाँतर्फ निर्माण भइरहेको मन्दिरका लागि उठेको सहयोग पारदर्शी ढंगले खर्च नभएको गुनासो छ । मन्दिरको लागत सुरुमा १० लाख रुपैयाँ निकालिएको थियो ।

dinesh chandra copy
प्रहरी अस्पतालका प्रमुख एआइजी डा. दिनेशचन्द्र पोखरेल र अस्पताल ।

पछि अस्पतालमा औषधि सप्लायर्सले ५ लाख रुपैयाँ दिने भयो भने साझा स्वास्थ्यले ५ लाख सहयोग गर्ने आश्वासन दियो । त्यसका अतिरिक्त पूर्वआइजीपीहरु, पूर्व प्रहरी अधिकारीहरु, बहालवाला अधिकृतहरुले समेत सहयोग गर्दै गएपछि १० लाख भन्दा बढी सहयोग जुट्न थाल्यो । पूर्वआइजीपी खड्गजीत बरालले १ लाख १ हजार सहयोग गरे । पूर्वआइजीपीहरु प्रदीपशमेर जबरा, अच्यूतकृष्ण खरेल, धु्रवबहादुर प्रधान, श्यामभक्त थापा, दुर्लभकुमार थापाले पनि सहयोग गरे ।
धर्मकर्ममा बढी रुची भएका पूर्वडीएसपी सुरतबहादुर शाहले पनि मन फुकाएरै सहयोग गरे मन्दिरका लागि । अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई मन्दिर निर्माणका लागि स्वेच्छिक सहयोग भने पनि अनिवार्य जस्तै बनाइएको थियो । १० हजारमाथि सहयोग गर्नेको नाम शिलालेखमा राख्ने भनेपछि अरुले पनि सहयोग गरेका छन् । यसरी १० लाख रुपैयाँ लागत राखेको मन्दिर निर्माणका लागि जताततैबाट सहयोगको बर्षा नै भयो ।
गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रहरी र सेनाको अस्पतालमा सर्वसाधारणको उपचार गर्ने ब्यवस्था गरिएको थियो । सर्वसाधारणको उपचारबापत लिने शुल्कबाट ५० प्रतिशत परीक्षण गर्ने डाक्टरले लिने र ५० प्रतिशत अस्पतालको कल्याणकोषमा राख्ने निर्णय गरिएको थियो । तर अस्पतालका प्रमुख डा. दिनेशचन्द्र पोखरेलले पहिलाको निर्णयविपरीत डाक्टरले पाउने रकम मन्दिर निर्माणमा उपयोग गर्ने निर्णय गरे । त्यो रकम के कति उठ्यो कति खर्च भयो त्यो समेत मन्दिर निर्माणका क्रममा अस्पताल प्रमुख डा. पोखरेल र लेखा अधिकृत मिलेर अनियमितता गरेको आरोप छ । मन्दिर निर्माणका लागि बाहिरबाट हेर्दाखेरी समिति जस्तो बनाइएको छ तर त्यो समितिका पदाधिकारीलाई नै के कति रकम सहयोग संकलन भयो भन्ने कुनै जानकारी नदिइएको स्रोतले बताएको छ । सुरक्षाफौजमा कार्यालय प्रमुख र लेखाअधिकृत मिलेपछि अरुको भूमिका केही पनि हुँदैन ।
नवराज सिलवाललाई आइजीपी बनाउन सर्वोच्च अदालतले दिएको आदेश अटेर गरी तत्कालीन पुष्पकमल दाहाल सरकारले तीन महिना निमित्त महानिरीक्षक बनाइएका थिए डा.दिनेशचन्द्र पोखरेल । ओमविक्रम राणा आइजीपी हुँदा पोखरेललाई प्रहरीको मेडिकल कलेज खोल्नका लागि अध्ययन समितिको संयोजक बनाई खाका तयार गर्न लगाइएको थियो । पछि मेडिकल कलेजहरुले भारतबाट खडेबाबा ल्याउने लगायतका विकृतिमूलक कुरा आएका र डा. गोविन्द केसीको अनसनका कारण मेडिकल कलेजको स्वीकृति पाउन सकेन । डा. पोखरेलको टीमले मेडिकल कलेजको खाका बनाउने क्रममा करिब ६० लाख रुपैयाँ खर्च गरेको र कलेज खोलेपछि त्यो सोधभर्ना गर्ने भनिएको थियो । तर कलेज पनि खुल्न सकेन । सापटी लिएर मेडिकल कलेजको खाका बनाएका पोखरेलको त्यो रकम उठ्न सकेको थिएन । त्यही रकम सोधभर्नाका लागि मन्दिर निर्माणका क्रममा उठेको रकम गोलमाल गरिएको आशंका पनि अस्पतालका प्रहरी अधिकारीले गरेका छन् । अस्पतालका लेखाअधिकृत जयराम कुँईकेललाई प्रयोग गरी मन्दिरका नाममा खर्च भएको देखाएर विगतको मेडिकल कलेजको लागि भएको खर्च सोधभर्ना गरेको आरोप पनि छ, सोमबारको साँघुमा समाचार छ । २०७५ भदौको अन्तिममा अवकाश हुने डा. पोखरेल धेरै ब्यस्त डाक्टर हुन् । उनको भरोसा अस्पताल बानेश्वरमा लगानी छ भने बिरामी जाचेर भ्याई नभ्याई छ ।
मन्दिरको निर्माणका लागि सरकारी बजेट एक रुपैयाँ पनि खर्च भएको छैन । निमित्त आइजीपी भइसकेका बरिष्ठ भएकाले वर्तमान प्रमुख सर्वेन्द्र खनालले पनि उनलाई सम्मान गर्दछन् । उनी निमित्त आइजीपी हुँदा खनाल एसएसपी थिए । खनाल आइजीपी भएपछि पोखरेलले जुनियर सिनियरको कुरा उठाएर राजीनामा दिने हल्ला पनि चलाएका थिए । तर अस्पतालको बैभवपूर्ण जागिरबाट उनले राजीनामा दिएनन् । आइजीपीले पनि सम्मान गर्ने भएकाले मन्दिर निर्माणमा अनियमितता भए पनि अस्पतालका डीआइजी, एसएसपी सबै चुपचाप छन् । मन्दिर निर्माणको कुरा उठाउलान् भनेर आइजीपीसँगको सम्बन्ध देखाएर मनोवैज्ञानिक प्रभाव पार्ने गरेका छन् ।
अस्पतालका लेखाअधिकृत जयराम कुँइकेल ललितपुर परिसरको मुद्दामा सई हुँदा ९ बर्ष बसेर आर्थिक मामिलामा विवादमा परेका हुन् । हेडक्वाटरको प्रशासनमा सरुवा बढुवामा पनि उनले गडबड गरेको आरोप लागेको थियो । सिमरामा पनि आर्थिक लेनदेनमा मुछिएका कुँइकेल कर्मचारी प्रशासन शाखामा आएका थिए । तत्कालीन कर्मचारी प्रशासन प्रमुख विश्वराज पोखरेलले उनलाई अस्पतालको लेखाअधिकृतमा सरुवा गरेका हुन् । उनको दुई बर्ष अवधि पुगिसकेकाले यो बर्ष सरुवा हुने लाइनमा छन् । लेखाअधिकृतबाट इप्रकामा जाने दाउमा छन् । अस्पतालको कल्याणकोषको रकम समेत हिनामिना गरेको आरोप कुँईकेलमाथि छ । अस्पतालको कल्याणकोषमा अर्कै लेखापाल हुन्छ । उसको काममा समेत हस्तक्षेप गरेर रकम हिनामिना गरेको आरोप उनलाई लाग्दैआएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७