सिंहदरबारमै असारे विकास

काठमाडाैं, २० असार । आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु, सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ ।
समाचार अनुसार पुँजीगत अर्थात् विकास खर्चको अवस्था दयनीय छ । गत वैशाखसम्म अर्थात् १० महिनामा १ खर्ब ३५ अर्ब अर्थात् ४० प्रतिशत मात्रै विकास खर्च हुन सकेको छ । जेठ महिना र असार मध्यसम्म गरी डेढ महिनामा भएको खर्च ४५ अर्ब अर्थात् १३।५ प्रतिशत छ । अब जति हतपत गर्दा पनि खर्च नुहने बजेट १ खर्ब १ अर्ब अर्थात ३० प्रतिशत छ ।
सचिवालयका सदस्यसचिव वसन्त राईले भने, ‘म समितिको नेतृत्वमा आएको दुई महिना मात्र भयो, म आएपछि काम भटाभट भएको हो, यसपालि असारमै पर्याे के गर्ने त ?’
समितिका इन्जिनियर सरोज कायस्थले भने हाकिमका कारण कार्यक्रम स्वीकृत ढिलो भएको बताए । उनले किन ढिला कार्यक्रम स्वीकृत भयो भन्नेबारे थप जानकारी भने नभएको बताए ।