नेइमारका फ्यान गायक निशान भट्टराई भन्छन्, ‘ब्राजिल वल्र्डकपको दावेदार हो’

–सम्झना राई
काठमाडौं, २० असार । ‘ए भुन्टी’ बोलको गीतले पछिल्लो समयमा चर्चा कमाइरहेका गायक निशान भट्टराईको दैनिक रुटिनमा अहिले गीत–संगीतसँगै फुटवल पनि थपिएको छ । दिनभरजसो आफ्नो साँगीतक कर्ममा जुटे पनि साँझको समय वल्र्डकपका लागि छुट्याएका छन् ।रसिया विश्वकपलाई नछुटाई हेरिरहेका गायक भट्टराई ब्राजिलका पूरानो सपोटर हुन् । अनि उनी नेइमारका ‘डाईहर्ट फ्रेण्ड’ हुन् ।
फुर्सदको समयमा टिभी अगाडि पर्दा हतार–हतार फुटवलमा रिमोट दाब्ने गायक भट्टराईलाई अन्य खेल भन्दा फुटवल हेर्न बढी आनन्द आउँछ । आफूले यसअघिका विश्वकपमा पनि ब्राजिललाई सपोर्ट गर्दै आएको जानकारी दिंदै उनले भने, अहिलेसम्म ब्राजिलको सबै खेल फर्ममा छ, तर उपाधि उसले लैजाला भन्ने नै चाहीं लागिरहेको छैन ।’ ‘सबै कलाकारहरुले आफ्नो टिमले विश्वकप टफी उचाल्ने दावी गरिरहेका बेला आखिर तपाई चाहिं किन आफ्नै टिमको विजयप्रति यति दोधार ?’ प्रश्न खस्न नपाउँदै उनले भने, इङल्याण्ड, बेल्जियम, फ्रान्स पहिलेदेखिकै विश्वकपका दावेदार र मजवुत टिम हुन्, यसैले उनीहरुलाई कम आँक्न मिल्दैन ।
’ ब्राजिलको हरेक प्रतिष्पर्धामा नेइमार निर्णायक हुने दावी गर्दै उनी थप्छन्, ‘ब्राजिललाई उपाधि दिलाउने हात धेरै नेइमारमा निर्भर देख्छु म ।’ उसो त गायक भट्टराईलाई नयाँपुस्ताका नेइमार मात्र होइन पूराना पुस्ताका पेले, हल्क, काका निकै मन परेका खेलाडी हुन् ।
उनलाई अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका रोनाल्डो पनि मन पर्ने खेलाडी हुन् । ब्राजिल बाहेक उनलाई स्पेनको खेल कौशल पनि मन पर्छ । तर, दुर्भाग्य स्पेन यस पटकको प्रतिष्पर्धाबाट बाहिरी सकेको छ ।